काठमाडौँ: काठमाडौँ महानगरपालिका वडा नम्बर २९ को आयोजनामा सञ्चालन भइरहेको प्रथम केएमसी वडा कप खुला फिडे र्यापिड चेस प्रतियोगितामा प्रकाशचन्द्र नेपालले अग्रता लिएका छन्।
भारतका २० खेलाडी सहित कुल २३० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा झापाका प्रकाशचन्द्र नेपालले शतप्रतिशत नतिजा हात पार्दै शीर्ष स्थानमा रहन सफल भएका हुन्।
शुक्रबार सम्पन्न पाँच चरणको खेलपछि भारतका किसन कुमार र दोलखाका आशिष फुँयालले समान ५ अंक जोड्दै प्रकाशचन्द्रसँग संयुक्त पहिलो स्थान बनाएका छन्।
वडा नं. २९ को आफ्नै भवनमा सञ्चालन भइरहेको प्रतियोगितामा झापाका १९७३ रेटेड खेलाडी राजन सुवेदीले मकवानपुरका २११७ रेटेड एफएम क्षितिज भण्डारीसँग बराबरी गर्दै ४.५ अंकसहित संयुक्त दोस्रो स्थान हासिल गरेका छन्।
उनीहरूसँगै बाँकेका १९२८ रेटेड एआईएम अभिक शाह, बनेपाका १९९६ रेटेड शैलेन्द्र न्यौपाने, ललितपुरका २०२१ रेटेड सुरज महर्जन, १९११ रेटेड राजनपुरी तथा भारतका १७७७ रेटेड शशी प्रकाशले पनि समान ४.५ अंक जोड्दै संयुक्त दोस्रो स्थानमा स्थान सुरक्षित गरेका छन्।
२०२४ रेटेड प्रकाशचन्द्र नेपालले अग्रिम सैजु, विनय राई, सुरज सिंह, सुभनदीप र प्रेम खड्कालाई पराजित गरेका छन्। भारतका १९०९ रेटेड किसन कुमारले अरिज राई, कसिभ कार्की, राजनारायण यादव, प्रतीक सुवेदी र सीएमए सुश्रुत दाहाललाई पराजित गरेका हुन्। यस्तै २०६९ रेटेड आशिष फुँयालले नेलिसा ओझा, आशानारायण लवट, महेश्वरलाल डंगोल, स्पर्श यादव र सुजन काफ्लेलाई पराजित गरेका छन्।
हालसम्म २३ जना शीर्ष खेलाडीहरू समान ४ अंकसहित उपाधि होडमा रहेका छन्।
प्रतियोगिताको उद्घाटन कार्यक्रम वडा सदस्य सन्तोष ढुंगेलको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथि वडा अध्यक्ष कुश ढकालले खेलाडीहरूलाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वडा अध्यक्ष ढकालले दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ३३ जना खेलाडीलाई हालसम्मकै सर्वाधिक नगद पुरस्कार रकम रु. ३ लाख २८ हजार वितरण गरिने जानकारी दिए।
संयोजक सन्तोष ढुंगेलका अनुसार प्रतियोगिताका विजेताले रु. ३५ हजार, उपविजेताले रु. ३० हजार, तृतीयले रु. २५ हजार र चौथो स्थान हासिल गर्ने खेलाडीले रु. २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। पाँचौँदेखि सातौँ स्थानसम्मका खेलाडीले जनही रु. १७ हजार, आठौँदेखि दशौँ स्थानसम्मका खेलाडीले जनही रु. १५ हजार तथा एघारौँदेखि पन्ध्रौँ स्थानसम्मका खेलाडीले जनही रु. ७ हजार पुरस्कार पाउनेछन्।
यस्तै उत्कृष्ट महिला विधातर्फ प्रथमले रु. ७ हजार, द्वितीयले रु. ६ हजार र तृतीयले रु. ५ हजार प्राप्त गर्नेछन्। बेस्ट अनरेटेड, बेस्ट भेटरान, १४ वर्षमुनि, १२ वर्षमुनि, १० वर्षमुनि तथा विभिन्न रेटिङ समूहका उत्कृष्ट खेलाडीहरूलाई पनि विशेष नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend