वीरेन्द्रनगर :कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक तथा दोस्रो त्रैमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री माननीय यामलाल कंडेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री माननीय राजीव विक्रम शाहज्यूको विशेष आतिथ्यता रहेको थियो भने विभागीय मन्त्री माननीय घनश्याम भण्डारी, प्रदेश योजना आयोगका माननीय उपाध्यक्ष तथा सदस्यज्यूहरू, प्रदेश सरकारका प्रमुख सचिवज्यू, विषयगत मन्त्रालयका प्रदेश सचिवज्यू तथा जिल्लागत कार्यालयका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो।
प्रगति समीक्षा कार्यक्रममा सामाजिक विकास मन्त्रालय मातहतका निकायहरूले सञ्चालन गरेका कार्यक्रमहरूको भौतिक तथा वित्तीय प्रगतिबारे विस्तृत छलफल गरिएको थियो। साथै योजनाहरूको कार्यान्वयन अवस्था, उपलब्धि र चुनौतीका विषयमा जिल्लागत कार्यालयका प्रमुखहरूले जानकारी प्रस्तुत गरेका थिए।
कार्यक्रममा विषयगत मन्त्रालयका प्रदेश सचिवज्यू, प्रदेश सरकारका प्रमुख सचिवज्यू, प्रदेश योजना आयोगका उपाध्यक्षज्यू, विभागीय मन्त्रीज्यू तथा मुख्यमन्त्रीज्यूबाट मन्त्रालयको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा आवश्यक सल्लाह, सुझाव तथा निर्देशन प्रदान गरिएको थियो।
प्रदेश सरकारको नीति तथा योजनाअनुसार सामाजिक विकासका कार्यक्रमलाई परिणाममुखी, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यका साथ प्रगति समीक्षा गरिएको जनाइएको छ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend