काठमाडौं : प्रथम केएमसी–२९ वार्ड चेयरम्यान कप ओपन फिडे र्यापिड रेटिङ चेस च्याम्पियनसिपको उपाधि जित्नबाट नेपाली खेलाडीहरू चुकेका छन्।
काठमाडौंमा शनिबार सम्पन्न तीन लाख ३७ हजार रुपैयाँ नगद सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक तवरले सम्पन्न भएको हो। अनामनगरस्थित काठमाडौँ महानगरपालिका वडा नं. २९ मा सञ्चालन भएको प्रतियोगितामा भारतका १९०९ रेटेड किसन कुमारले ८ अंक र ५३.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा उपाधि जित्न सफल भए।
प्रतियोगिताको अन्तिम नवौँ चरणअघि ६ जना खेलाडी समान ७ अंकमा रहेका थिए। पहिलो बोर्डमा एफएम क्षितिज भण्डारीले १८३१ रेटेड महेन्द्रकुमार साम्बाहाम्फेलाई पराजित गरे भने दोस्रो बोर्डमा राजन सुवेदी आशीष फूँयालसँग पराजित हुन पुगे। तेस्रो बोर्डमा किसन कुमारले बढी प्रोग्रेसिभ प्वाइन्ट भएका आकाश सुवेदीलाई पराजित गर्दै उत्कृष्ट टाइब्रेकसहित उपाधि आफ्नो पक्षमा पारे।
उपाधिसहित किसन कुमारले नगद ३५ हजार रुपैयाँ प्राप्त गरे। नेपालका शीर्ष २११७ रेटेड एफएम क्षितिज भण्डारी समान ८ अंक जोडेर दोस्रो स्थानमा रहँदै ३० हजार रुपैयाँ नगद पुरस्कार हात पारे। यस्तै, नेपालकै २०६९ रेटेड आशीष फूँयाल तेस्रो स्थानमा रहँदै २५ हजार रुपैयाँ पुरस्कारका हकदार बने।
समान ७ अंक जोडेर स्याङ्जाका अनरेटेड आकाश सुवेदी चौथो स्थानमा रहँदै २० हजार रुपैयाँ प्राप्त गरे। झापाका १९७३ रेटेड राजन सुवेदी पाँचौँ, काठमाडौँका १८९८ रेटेड सीएम नवीन तन्डुकार छैटौँ तथा झापाका २००२ रेटेड सीएम सुश्रुत दाहाल सातौँ स्थानमा रहँदै जनही १७ हजार रुपैयाँ पुरस्कार जित्न सफल भए।
यसैगरी नवलपुरका १९७० रेटेड सुजन काफ्ले, चेकमेट चेस एकेडेमीका २०२४ रेटेड प्रकाशचन्द्र नेपाल र ललितपुरका १९११ रेटेड राजनपुरी क्रमशः आठौँ, नवौँ र दशौँ स्थानमा रहँदै जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
महिला विधातर्फ झापाकी कृतिसरा अधिकारी प्रथम, राधिका पौडेल द्वितीय तथा उज्जीविनी कँडेल तृतीय बन्दै क्रमशः ७ हजार, ६ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भए।
कूल ४२ जना खेलाडीले विभिन्न विधातर्फ पुरस्कार जितेका प्रतियोगितामा नवप्रवेशी संस्कार गुरुङ, सिनियरतर्फ अशोक मोहन श्रेष्ठ, १० वर्षमुनि प्रसुन मल्ल, १२ वर्षमुनि हार्दिक पन्त, १४ वर्षमुनि समृद्ध श्रेष्ठ, १६ सय रेटिङमुनि स्पर्श अर्याल तथा १८ सयमुनि प्रतीक सुवेदी उत्कृष्ट घोषित भए।
काठमाडौँ महानगरपालिका वडा नं. २९ का स्थानीय खेलाडीतर्फ अग्रिम संयुक्त प्रथम, दिपोन मैनाली द्वितीय र निहाना श्रेष्ठ तृतीय बने।
प्रतियोगिताको पुरस्कार वितरण समारोह बागमती प्रदेश सभा सदस्य माननीय दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. २९ का अध्यक्ष कुश ढकाल, आयोजक समिति संयोजक सन्तोष ढुंगेल, निर्देशक इन्द्रकुमार बस्नेत, प्रमुख निर्णायक सोराज ताम्राकार लगायतको उपस्थिति रहेको थियो।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend