काठमाडौं, तीनकुनेस्थित भी.एस. (विनायक सुधा) निकेतन सेकेन्डरी स्कूलमा आयोजना गरिएको ‘रोबो फेस्ट २.०’ सफलतापूर्वक सम्पन्न भएको छ। VSN Robotics Club को आयोजनामा सम्पन्न यस कार्यक्रमले विद्यार्थीहरूमा विज्ञान, प्रविधि र नवप्रवर्तनप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्य बोकेको थियो।
कार्यक्रमको औपचारिक उद्घाटन संस्थापक अध्यक्ष श्रीमती उर्मिला पोखरेलले रिबन काटेर गर्नुभएको थियो। उद्घाटन सत्रपछि उहाँले विद्यार्थीहरूद्वारा तयार गरिएका रोबोटिक प्रोजेक्टहरू अवलोकन गर्दै प्रविधिमैत्री शिक्षाको महत्वबारे धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा विद्यालय व्यवस्थापन, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
रोबो फेस्ट २.० अन्तर्गत विद्यार्थीहरूले तयार पारेका विभिन्न रोबोट मोडेल, प्रविधि–आधारित प्रदर्शनी तथा प्रयोगात्मक प्रस्तुतीकरणहरू आकर्षणको केन्द्र बने। यसले विद्यार्थीहरूको सिर्जनशीलता, समस्या समाधान क्षमता र टोलीमा काम गर्ने सीपलाई उजागर गरेको आयोजकको भनाइ छ।
कार्यक्रमको समापन सत्रमा विद्यार्थी प्रतिनिधिहरूले विद्यालय प्रशासन र व्यवस्थापनप्रति आभार व्यक्त गर्दै यस्ता प्रविधिमैत्री कार्यक्रमका लागि निरन्तर सहयोग प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे। उनीहरूले यस्ता प्लेटफर्मले व्यवहारिक सिकाइ, आत्मविश्वास र भविष्यका लागि आवश्यक सीप विकासमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे।
‘रोबो फेस्ट २.०’ ले भीएस निकेतनको आधुनिक, नवप्रवर्तनमुखी र व्यवहारिक शिक्षाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको देखिएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend