logo

२०८३ असोज ६ मंगलबार

पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन


हाम्रो राष्ट्र
  • सोमबार, ४ फाल्गुन २०८२
  • 2.1K
    SHARES

    काठमाडौं – पाकिस्तान–नेपालबीचको मित्रता र युवा क्रिकेट प्रतिभा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ११औँ संस्करणको पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ को अन्तिम खेल तथा समापन समारोह आज काठमाडौंस्थित पाकिस्तान दूतावास परिसरमा सम्पन्न भएको छ।

    फेब्रुअरी ७ देखि १५ तारिखसम्म सञ्चालन भएको प्रतियोगितामा पाकिस्तान दूतावास टिमसहित नेपालका विभिन्न क्लबका १२ टिम सहभागी थिए। सन् २०१४ देखि निरन्तर हुँदै आएको यो वार्षिक प्रतियोगिता नेपाल र पाकिस्तानका युवामाझ क्रिकेटप्रतिको साझा उत्साह र सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुँदै आएको छ।

    प्रतियोगिताको उपाधि बालुवाटार क्रिकेट एकेडेमी ले जित्दै ट्रफी र नगद पुरस्कार प्राप्त गरेको छ भने पाकिस्तान दूतावास टिम उपविजेता बनेको छ। विजेता, उत्कृष्ट खेलाडी तथा प्रतियोगिता पदाधिकारीलाई पाकिस्तानका राजदूत महामहिम अब्रार एच. हाश्मी तथा विशेष अतिथिहरूले ट्रफी, पदक र नगद पुरस्कार प्रदान गर्नुभयो।

    समारोहमा बंगलादेश र चीनका राजदूत, सार्कका महासचिव, मलेसियाका चार्ज द’अफेयर्ससहित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै, नेपाल क्रिकेट संघका पूर्व तथा वर्तमान पदाधिकारी, पाकिस्तान–नेपाल एलुम्नाई नेटवर्क, नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ, नेपाल–पाकिस्तान युवा परिषद्, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, पाकिस्तानी समुदाय तथा दूतावासका अधिकारी र परिवारजनको उल्लेखनीय सहभागिता थियो।

    प्रतियोगिताको दीर्घकालीन योगदानको कदर गर्दै, अघिल्ला संस्करणहरूमा सहभागी भई हाल नेपालका राष्ट्रियस्तरका टिममा पुगेका सात जना नेपाली क्रिकेटरहरूलाई विशेष सम्मान गरिएको थियो।

    कार्यक्रममा काउन्सिलर (राजनीतिक तथा शिक्षा) इक्बाल हैदर ले दूतावासले क्रिकेटलाई तल्लो तहदेखि प्रवर्द्धन गर्दै आएको उल्लेख गर्दै प्रतियोगिताले नेपालमा उदाउँदा क्रिकेट प्रतिभा विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

    समापन मन्तव्यमा राजदूत अब्रार हाश्मीले युवा संलग्नता र खेलकुद आदान–प्रदानमार्फत पाकिस्तान–नेपाल सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले २०२७ मा आयोजना हुने १२औँ संस्करणमा १६ टिम सहभागी गराइने घोषणा गर्नुभयो। साथै, सहभागी सबै टिमलाई बधाई दिँदै विजेता टिमलाई विशेष शुभकामना व्यक्त गर्नुभयो।

    राजदूत हाश्मीले प्रतियोगितालाई सफल बनाउन सहयोग पुर्‍याउने साझेदार IME ग्लोबल बैंक र फिल्ली क्याफे, प्रत्यक्ष प्रसारण गर्ने एक्सन टिभी र डिस होम मिडिया नेटवर्क, तथा प्रतियोगिता व्यवस्थापनमा खटिएका दूतावासका आयोजक टिम, अम्पायर, ग्राउन्ड्सम्यान र सहयोगी टिमप्रति आभार व्यक्त गर्नुभयो।

    Other News 

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend