logo

२०८३ साउन १४ बिहिबार

माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा कक्षा ४ को ‘क्लास डे’ कार्यक्रम सम्पन्न

माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा कक्षा ४ को ‘क्लास डे’ कार्यक्रम सम्पन्न


हाम्रो राष्ट्र
  • सोमबार, २ चैत्र २०८२
  • 754
    SHARES

    माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलले कक्षा ४ का विद्यार्थीहरूको सहभागितामा विशेष ‘क्लास डे’ कार्यक्रम आयोजना गरी भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय परिवारको उत्साहपूर्ण सहभागिता रहेको थियो।

    कार्यक्रमको उद्घाटन विद्यालयका प्रधानाध्यापक होम नाथ आचार्यले बिरुवामा पानी हालेर गरेका थिए। उक्त प्रतीकात्मक उद्घाटनमार्फत उनले विद्यार्थीहरूलाई बिरुवाजस्तै स्याहार, माया र सही मार्गदर्शन पाएमा उज्ज्वल भविष्यतर्फ अघि बढ्न सक्ने सन्देश दिएका थिए।

    कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि कक्षा ४ का विद्यार्थीहरूले विविध सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका थिए। कार्यक्रममा ओर्केस्ट्रा प्रस्तुति, स्वागत नृत्य, एन्टी–बुलिइङ नाटक, सगरमाथा र अन्नपूर्णा शीर्षकका नृत्य, सम्पूर्ण कक्षाका विद्यार्थीहरूको सामूहिक चिनियाँ गीत, तेक्वान्दो प्रस्तुति तथा विद्यार्थी अनुभव साझेदारी जस्ता आकर्षक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक होम नाथ आचार्यले विद्यार्थीहरूको प्रतिभा, आत्मविश्वास र सिर्जनशीलता विकास गर्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले विद्यार्थी, शिक्षक तथा अभिभावकको सहकार्यले विद्यालयको शैक्षिक तथा समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे।

    कार्यक्रममा उपस्थित अभिभावकहरूले पनि विद्यार्थीहरूको प्रस्तुति र विद्यालयले गरेको व्यवस्थापनप्रति खुशी व्यक्त गर्दै यस्ता गतिविधिले विद्यार्थीको प्रतिभा उजागर गर्न सहयोग पुर्‍याउने बताएका थिए।

    कार्यक्रममा भोकल क्लबको गीत, क्लबका विद्यार्थीहरूको नृत्य, कला प्रदर्शनी, विद्यालय गीत तथा विद्यार्थीहरूको शैक्षिक यात्रालाई समेटिएको भिडियो प्रस्तुति समेत गरिएको थियो, जसले उपस्थित दर्शकहरूलाई भावुक र उत्साहित बनाएको थियो।

    कार्यक्रमको अन्त्यमा विद्यार्थी नेताले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा सम्पूर्ण उपस्थित अतिथिहरूप्रति आभार व्यक्त गरेका थिए।

    अन्तिम चरणमा प्रस्तुत गरिएको फ्युजन नृत्यसँगै कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend