logo

२०८३ असोज ६ मंगलबार

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं. ११ को हातमा

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं. ११ को हातमा


हाम्रो राष्ट्र
  • बुधबार, २५ चैत्र २०८२
  • 1.8K
    SHARES

    काठमाडौँ, चैत २३ : काठमाडौं महानगरपालिका वडा नं. ११ ले दोश्रो सहिद सुरज शाक्य स्मृति अन्तरवडाव्यापी रापिड रेटिङ टिम चेस प्रतियोगिताको उपाधि जितेको छ।

    टेवहालस्थित संकटा मन्दिरको प्राङ्गणमा वडा नं. २२ ले आयोजना गरेको दुई दिने सात चरणको प्रतियोगितामा खुल्ला तर्फ दुई, महिला एक र १६ वर्षका एक गरी चार जना खेलाडी भएको टिमसहित २९ वटा वडाले प्रतिस्पर्धा गरेका थिए।

    च्याम्पियन वडा नं. ११ ले सर्वाधिक १३ अंक जोड्दै सहज रूपमा उपाधि जित्यो। टिममा एफएम क्षितिज भण्डारी, विजेश राजकर्णिकार, प्रवीर केसी र राधिका पौडेलले उत्कृष्ट प्रदर्शन गरे।

    पहिलो दिन शीर्ष स्थानमा संयुक्तरूपमा रहेका आयोजक वडा नं. २२ ले उपविजेताको स्थान हासिल गर्‍यो। वडा नं. २२ का खेलाडी: पहिलो बोर्डमा सिएम नवीन तण्डुकार, दोस्रो बोर्डमा प्रकाशचन्द्र नेपाल, तेस्रो बोर्डमा हार्दिक पन्त र चौथो बोर्डमा पुजा भण्डारी थिए।

    समान ११ अंक बनाएको वडा नं. २३ ले तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो भने, ९ अंक बनाएको वडा नं. २८ ले चौथो स्थान र सान्त्वना पुरस्कार पायो।

    विजेता वडा नं. ११ ले ट्रफीसहित नगद ६० हजार, उपविजेता वडा नं. २२ ले ४० हजार, तेस्रो वडा २३ ले ३० हजार र सान्त्वना पुरस्कार पाएर वडा २८ ले २० हजार रुपैयाँ हात पारे।

    व्यक्तिगत प्रदर्शनमा एफएम क्षितिज भण्डारी, प्रकाशचन्द्र नेपाल, प्रवीर केसी र नेलिशा ओझाले उत्कृष्ट खेल्दै जनही नगद १० हजार प्राप्त गरे। १७ सय रेटिङ मुनिको वर्गमा वडा नं. २० टिम उत्कृष्ट रह्यो।

    नेपाल बुद्धिचाल महासंघको तत्त्वावधान र काठमाडौँ जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा स्विस लिग प्रणालीमा २ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।

    समापन कार्यक्रममा वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनले महासंघलाई धन्यवाद पत्र हस्तान्तरण गरे। पुरस्कार वितरण समारोहमा संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर, जनप्रतिनिधि, वरिष्ठ पत्रकार र प्रमुख निर्णायक एफए सोराज ताम्राकार लगायतको उपस्थिती रहेको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend