logo

२०८३ साउन १३ बुधबार

छैटौं दोलखा अन्तर्राष्ट्रिय चेस प्रतियोगिताको उपाधि रसियन ग्रान्डमास्टर किरियाकोभलाई

छैटौं दोलखा अन्तर्राष्ट्रिय चेस प्रतियोगिताको उपाधि रसियन ग्रान्डमास्टर किरियाकोभलाई


हाम्रो राष्ट्र
  • शनिबार, २ जेष्ठ २०८३
  • 1.7K
    SHARES

    दैलेख: छैटौं संस्करणको दोलखा खुल्ला अन्तर्राष्ट्रिय चेस प्रतियोगिताको उपाधि रसियन ग्रान्डमास्टर किरियाकोभ पेटले अपराजित रहँदै जितेका छन् ।

    रसिया, भारत र नेपालका तीन खेलाडीले समान ७.५ अंक जोडे पनि प्रोग्रेसिभ प्वाइन्टका आधारमा क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान निर्धारण गरिएको हो ।

    २४७३ रेटिङ भएका रसियन ग्रान्डमास्टर किरियाकोभले नौ चरणको क्लासिकल खेलमा ६ जित र ३ बराबरी खेल्दै ७.५ अंकसहित उपाधि हात पारे । उनले प्रोग्रेसिभ ५४.५ प्वाइन्ट जोड्दै नगद रु. १ लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

    चरिकोटस्थित सिम्पानी सभाहलमा सम्पन्न प्रतियोगितामा भारतका २३२४ रेटिङ भएका अर्पण दासले प्रोग्रेसिभ ५३.५ प्वाइन्टसहित दोस्रो स्थान हासिल गर्दै नगद रु. ६० हजार प्राप्त गरे । नेपालका २०४० रेटिङ भएका रिसोन थापाले प्रोग्रेसिभ ५१.५ प्वाइन्टका साथ तेस्रो स्थान सुरक्षित गर्दै नगद रु. ४० हजार जिते ।

    यसैगरी समान ७ अंक जोड्ने खेलाडीमध्ये प्रोग्रेसिभ प्वाइन्टका आधारमा नेपाली युवा सिएम पुरुषोत्तम सिलवाल चौथो हुँदै नगद रु. २५ हजार जित्न सफल भए । भारतका अंकित दास पाँचौं हुँदै रु. १५ हजार तथा नेपालका धिरेन राई छैटौं हुँदै रु. १० हजार पुरस्कार प्राप्त गरे ।

     

    प्रतियोगितामा भारतका राहुल गुरुङ सातौं, थेन्दुप तामाङ आठौं, विनायक सिंह यादव नवौं तथा नेपालका प्रशान्त गुरुङ दशौं स्थानमा रहे ।

    दोलखा चेस होम्सको आयोजनामा सम्पन्न प्रतियोगितामा सात राष्ट्रका १४० जना अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको थियो । आयोजकले कुल रु. ५ लाख २ हजार नगद पुरस्कार वितरण गरेको जनाएको छ ।

    दोलखा चेस होम्सका अध्यक्ष एवं कार्यक्रम संयोजक गोविन्दमान श्रेष्ठको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा दोलखा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आशिष घिसिङ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका पदाधिकारी तथा महासंघका प्रवक्ता राजु ताम्राकारलगायतले विजयी खेलाडीहरूलाई पुरस्कार प्रदान गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend