logo

२०८३ साउन १५ शुक्रबार

कामनपा वडा अध्यक्ष कप बुद्धिचाल उपाधि क्षितिज भण्डारीलाई

कामनपा वडा अध्यक्ष कप बुद्धिचाल उपाधि क्षितिज भण्डारीलाई


हाम्रो राष्ट्र
  • शनिबार, २३ जेष्ठ २०८३
  • 1.3K
    SHARES

    काठमाडौं, जेठ २३ : काठमाडौं महानगरपालिका वडा नं. १० को आयोजनामा सम्पन्न राष्ट्रव्यापी प्रथम वडा अध्यक्ष कप खुला फिडे र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम क्षितिज भण्डारीले जितेका छन्। प्रतियोगिताका शीर्ष वरीयता प्राप्त २२०० रेटेड खेलाडी भण्डारीले ९ चरणको खेलमा ८ जित र १ बराबरी नतिजासहित ८.५ अंक जोड्दै अपराजित च्याम्पियन बने।

    उपाधि विजेता क्षितिज भण्डारीले नगद रु. ३५ हजार, ट्रफी तथा स्वर्ण पदक प्राप्त गरे। प्रतियोगितामा तीन खेलाडीले समान ७.५ अंक जोड्दा सिएम शुश्रुत दाहाल टाइब्रेकका आधारमा दोस्रो स्थानमा रहे। उनले नगद रु. ३० हजार, ट्रफी तथा रजत पदक हात पारे।

    यस्तै, २०४६ रेटेड धिरेन राई तेस्रो हुँदै नगद रु. २४ हजार, ट्रफी तथा कांस्य पदक जित्न सफल भए। समान ७.५ अंक जोडेका सबिनचन्द्र घिमिरे चौथो स्थानमा रहँदै नगद रु. १४ हजार प्राप्त गरे।

    आशिष फुयाँल, सिएम नवीन तण्डुकार, कमल श्रेष्ठ, सुरोज महर्जन र गणेशमान दुवाल पाँचौँदेखि दशौँ स्थानसम्म रहँदै जनही रु. १० हजार पुरस्कार जित्न सफल भए। एघारौँदेखि पन्ध्रौँ स्थानसम्मका खेलाडीले जनही रु. ७,५०० तथा सोह्रौँदेखि बीसौँ स्थानसम्मका खेलाडीले जनही रु. ५,५०० पुरस्कार प्राप्त गरे।

    महिला विधातर्फ रिया श्रेष्ठ प्रथम भइन्। महिला तथा अन्य विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा उमेर समूह, रेटिङ समूह, अनरेटेड तथा उत्कृष्ट स्थानीय खेलाडीहरूलाई समेत सम्मान गरिएको थियो।

    प्रतियोगितामा १८१ खेलाडीको सहभागिता रहेको थियो। टप–२० तथा विभिन्न विधाका उत्कृष्ट गरी ४७ जना खेलाडीलाई कुल रु. ३ लाख ३७ हजार नगद पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।

    समापन समारोहमा बुद्धिचाल खेलले मानसिक सन्तुलन, स्मरणशक्ति, विश्लेषण क्षमता र योजनागत सोच विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले विद्यालयस्तरसम्म यसको विस्तार आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो। साथै आगामी वर्ष बुद्धिचाल खेलको विकासका लागि बागमती प्रदेश सरकारबाट रु. २० लाख बजेट विनियोजन गरिएको जानकारी पनि गराइएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend