काठमाडौं, जेठ २५: भारतको अहमदाबादमा जुन १ देखि ८, २०२६ सम्म सम्पन्न चौथो गुजरात अन्तर्राष्ट्रिय ओपन ग्रान्डमास्टर्स चेस प्रतियोगिताको क्याटेगोरी ‘ए’ मा नेपालका क्यान्डिडेट मास्टर पुरुषोत्तम सिलवालले उत्कृष्ट प्रदर्शन गरेका छन्।
फिडे रेटिङ २०३८ भएका सिलवालले १० चरणको प्रतिस्पर्धामा ६ अंक जोड्दै उत्कृष्ट दोस्रो विदेशी खेलाडी घोषित भए। यस उपलब्धिसँगै उनले नेपाली रुपैयाँ १६ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगितामा उत्कृष्ट विदेशी प्रथम खेलाडी उज्वेकिस्तानका सीएम कमत्या कुभोज मिराज तथा तेस्रो स्थानमा स्कटल्यान्डका सीएम बोग्गारापु कृतन रहेका थिए।
सिलवालले प्रतियोगिताको पहिलो चरणमै ११औँ वरीयताका रुसी ग्रान्डमास्टर बोरिस सभचेन्कोलाई पराजित गर्दै सबैको ध्यान आकर्षित गरेका थिए। सभचेन्को हालै भारतको ओडिसामा सम्पन्न कीट अन्तर्राष्ट्रिय चेस प्रतियोगिताका विजेता खेलाडी हुन्।
नेपालका राष्ट्रिय उपविजेता सिलवालले प्रतियोगितामा रुसी जीएम बोरिस सभचेन्को (२४७८), स्कटल्यान्डका सीएम बोग्गारापु कृतन (२१९७), नागा वेङ्कटा (१९३९) तथा पल्किन कौर (१८८०) लाई पराजित गरे।
त्यस्तै, उनले स्लोभाकियाका जीएम मानिक मिकुलास (२३०१), भारतका एफएम आर्नभ अग्रवाल (२२३८), एफएम अंकित राय (२२३०) तथा सीएम शेर्ला प्रथमेश (२११८) सँग बराबरी खेल्दै महत्वपूर्ण अंक हासिल गरेका थिए।
सिलवाल इजरायलका अन्तर्राष्ट्रिय मास्टर लेभिन गाइ (२४८७) तथा भारतका एफएम सिद्धान्त गवाइ (२२८१) सँग भने पराजित भएका थिए।
प्रतियोगितामा उनको प्रदर्शन रेटिङ २२९७ रह्यो। उनले आफ्नो फिडे रेटिङमा १२४ अंक थप्दै २०३८ बाट २१६२ पुर्याउन सफल भए। ग्रान्डमास्टरस्तरको बलियो प्रतिस्पर्धामा ६ अंक जोड्नु नेपाली बुद्धिचालका लागि उल्लेखनीय उपलब्धि मानिएको छ। प्रारम्भिक वरीयतामा १६२औँ स्थानमा रहेका सिलवालले प्रतियोगिता ६८औँ स्थानमा टुङ्ग्याए।
यसअघि ओडिसामा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताबाट ८० रेटिङ बढाएका सिलवालले गुजरातमा थप १२४ रेटिङ वृद्धि गर्दै आफ्नो अन्तर्राष्ट्रिय स्तरलाई अझ मजबुत बनाएका छन्।
प्रतियोगितामा नेपाल, भारत, अमेरिका, रुस, इजरायल, स्लोभाकिया, फिलिपिन्स, आर्मेनियालगायत २३ राष्ट्रका ३०६ खेलाडीको सहभागिता रहेको थियो।
प्रतियोगिताको उपाधि इजरायलका आईएम बेनी आइजेन्बर्ग (२४६६) ले ८ अंकसहित जिते। भियतनामका आईएम गुयेन क्वोक हाइ (२४२२) दोस्रो तथा भारतका जीएम अभिजित गुप्ता (२५४०) तेस्रो स्थानमा रहे।
उच्चस्तरीय ग्रान्डमास्टर्स प्रतियोगितामा नेपाली खेलाडीले उल्लेखनीय रेटिङ वृद्धि गर्नु नेपाली बुद्धिचालका लागि उत्साहजनक उपलब्धि भएको नेपाल बुद्धिचाल संघका प्रवक्ता ताम्राकारले बताएका छन्।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend