दमक, असार १ :राष्ट्रिय खेलकुद परिषद्बाट गठित २६औँ खुला तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन समितिको रेखदेखमा जारी राष्ट्रिय प्रतियोगितामा रुपेश जैसवाल र कृतिसरा अधिकारीले अग्रता लिएका छन्।
प्रतियोगिताको तेस्रो चरण सम्पन्न हुँदा एफएम रुपेश जैसवालले क्रमशः सिएम पुरुषोत्तम सिलवाल, राजन सुवेदी र मुहान नरसिंह श्रेष्ठलाई पराजित गर्दै पूर्ण ३ अंक जोडेका छन्।
यस्तै, महिला स्पर्धातर्फ कृतिसरा अधिकारीले पूजा भण्डारी, नुमा सुब्बा र एञ्जल महर्जनविरुद्ध जीत दर्ता गर्दै पूर्ण ३ अंक जोड्दै शीर्ष स्थानमा रहेकी छन्।
युवा खेलाडी आशिष फूयाँल २.५ अंकसहित दोस्रो स्थानमा छन्। उनले अभीक शाह र ज्वाला इम्बुङलाई पराजित गर्दै सहपाठी कमल श्रेष्ठसँग बराबरी खेलेका हुन्।
पुरुषतर्फ रिसोन थापाले राजन सुवेदी र मुहान नरसिंहसँग बराबरी तथा कमल श्रेष्ठलाई पराजित गर्दै २ अंकसहित तेस्रो स्थानमा रहेका छन्। समान २ अंकसहित सिएम पुरुषोत्तम सिलवाल र सिएम सुश्रुत दाहाल पनि प्रतिस्पर्धामा छन्।
राजन सुवेदी, मुहान नरसिंह श्रेष्ठ र ज्वाला इम्बुङको समान १.५ अंक रहेको छ भने कमल श्रेष्ठ, एआईएम अभीक शाह, सिएम पुरुषोत्तम चौलागाईं र धिरेन राईले समान ०.५ अंक जोडेका छन्।
महिला स्पर्धातर्फ निहाना श्रेष्ठले एञ्जल महर्जन र इशा गिरिलाई पराजित गर्दै प्रिया क्षेत्रीसँग बराबरी खेली २.५ अंक जोडिन्। समान २.५ अंक बनाएकी प्रियाले इशा गिरि र प्रविशा दवाडीलाई पराजित गर्दै निहानासँग बराबरी खेलेकी हुन्।
यसैगरी, शुशिला गुरुङले २ अंक जोड्दा एञ्जल महर्जन, पूजा भण्डारी, बिनिता कपाली र सिन्दिरा जोशीको समान १.५ अंक रहेको छ। प्रविशा दवाडीको १ अंक छ भने इशा गिरि र पुनम प्रसाईंले ०.५–०.५ अंक जोडेका छन्। नुमा सुब्बाले भने अझै अंकको खाता खोल्न सकेकी छैनन्।
यसैबीच सोमबार प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश, विराटनगरका सदस्यसचिव बिप्लव घोषले प्रतियोगिताको उद्घाटन गरेका छन्। उनले विभिन्न खेलका पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने परम्परा रहेको उल्लेख गर्दै खेलाडीलाई आत्मनिर्भर बनाउने वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा विशेष अतिथिका रूपमा दमक नगरपालिकाका मेयर दीपक थापा, प्रतियोगिताका सह–संयोजक दीपेन राई, महासचिव धरमबहादुर लामा, सदस्य राजु ताम्राकार, सानुराज बज्राचार्यलगायतको उपस्थिति रहेको थियो। कार्यक्रम झापा जिल्ला बुद्धिचाल संघका अध्यक्ष भुपेन्द्र निरौलाको सभापतित्वमा सम्पन्न भएको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend