दमक, असार ३ : ४६ औँ चेस ओलम्पियाड छनोट तथा २६ औँ राष्ट्रिय पुरुष एवं ११ औँ राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिताको चौथो दिन सम्पन्न सातौँ चरणसम्म पुरुषतर्फ एफएम रुपेश जैसवाल र महिलातर्फ कृतिसरा अधिकारीले अग्रता कायम राखेका छन्।
पुरुषतर्फ एफएम रुपेश जैसवालले ६ जित र १ बराबरीसहित ६.५ अंक जोड्दै शीर्ष स्थानमा आफूलाई बलियो बनाएका छन्। वर्तमान नेपाल च्याम्पियन रुपेश उपाधि रक्षा गर्ने लक्ष्यसहित उत्कृष्ट लयमा देखिएका छन्। उनले पछिल्ला दुई चरणमा आशिष फुयाल र सिएम पुरुषोत्तम चौलागाईंलाई पराजित गरेका थिए। २०६७ रेटिङका रुपेश आठौँ चरणमा धिरेन राईसँग प्रतिस्पर्धा गर्दैछन्।
दोस्रो स्थानमा रहेका २०६१ रेटिङका रिसोन थापाले ५.५ अंक जोड्दै शीर्ष स्थानलाई पछ्याइरहेका छन्। उनले सिएम पुरुषोत्तम चौलागाईं र धिरेन राईलाई पराजित गरेका थिए भने आठौँ चरणमा एआईएम अभीक शाहसँग प्रतिस्पर्धा गर्दैछन्।
पूर्व नेपाल च्याम्पियन राजन सुवेदी र वर्तमान नेपाल उपविजेता पुरुषोत्तम सिलवाल समान ४.५ अंकसहित संयुक्त तेस्रो स्थानमा छन्। राजनले अभीक शाह र ज्वाला ईम्बुङसँग बराबरी खेलेका थिए भने २०३४ रेटिङका पुरुषोत्तम सिलवालले सुश्रुत दाहाल र आशिष फुयालसँग बराबरी खेल्दै उपाधिको सम्भावना जीवित राखेका छन्। उनले पहिलो चरणमा एफएम रुपेशसँग हार बेहोरेका थिए।
आशिष फुयाल र मुहान नरसिंह श्रेष्ठको समान ३.५ अंक रहेको छ। ज्वाला ईम्बुङको ३ अंक, एआईएम अभीक शाहको २.५ अंक, सिएम पुरुषोत्तम चौलागाईंको २ अंक, कमल श्रेष्ठको १.५ अंक तथा धिरेन राईको १ अंक रहेको छ।
महिलातर्फ शीर्ष वरियताकी कृतिसरा अधिकारीले ५.५ अंक जोड्दै उपाधितर्फ अग्रता कायम राखेकी छन्। उनलाई पछ्याउँदै विनिता कपाली ५ अंकसहित दोस्रो स्थानमा छिन्। विनिताले प्रविशा दवाडी र पुनम प्रसाईंलाई पराजित गरेकी थिइन्।
प्रिया क्षेत्री, निहाना श्रेष्ठ, सिन्दिरा जोशी र पूजा भण्डारी समान ४.५ अंकसहित संयुक्त तेस्रो स्थानमा रहँदै प्रतियोगितालाई थप रोचक बनाएका छन्। एञ्जल महर्जन र शुशीला गुरुङको समान ३.५ अंक रहेको छ भने ईशा गिरिको ३ अंक, प्रविशा दवाडीको १.५ अंक तथा नुमा सुब्बा र पुनम प्रसाईंको समान १ अंक रहेको छ।
राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको प्रतियोगिता सञ्चालन समितिको रेखदेखमा सञ्चालन भइरहेको यस प्रतियोगितामा ११ चरणको खेलपछि चेस ओलम्पियाड छनोट तथा राष्ट्रिय वरियता निर्धारण गरिनेछ। हालसम्म सात चरण सम्पन्न भइसकेको र अन्तिम चार चरण बाँकी रहेको प्रतियोगिता सञ्चालन समितिका सदस्य राजु ताम्राकारले जानकारी दिएका छन्।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend