logo

२०८३ असोज ६ मंगलबार

रुपेश तेस्रो पटक नेपाल च्याम्पियन बन्ने संघारमा, कृतिसरा पनि अग्रस्थानमा

रुपेश तेस्रो पटक नेपाल च्याम्पियन बन्ने संघारमा, कृतिसरा पनि अग्रस्थानमा


हाम्रो राष्ट्र
  • बिहिबार, ४ असार २०८३
  • 1.1K
    SHARES

    दमक, असार: राष्ट्रिय खेलकुद परिषद्द्वारा गठित प्रतियोगिता सञ्चालन समितिको रोहबरमा जेठ ३१ गतेदेखि जारी २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको ९ चरणको खेल सम्पन्न भएको छ।

    प्रतिस्पर्धामा वर्तमान राष्ट्रिय च्याम्पियन एफएम रुपेश जैसवाल ८.५ अंक तथा महिला राष्ट्रिय उपविजेता कृतिसरा अधिकारी ७.५ अंकसहित उपाधि नजिक पुगेका छन्।

    पुरुषतर्फ काठमाडौंका शीर्ष वरीयताका २०७६ रेटेड एफएम रुपेश जैसवालले ८ जित र १ बराबरीसहित स्पष्ट २ अंकको अग्रता बनाएका छन्। पाँचथरका २०६१ रेटेड रिसोन थापा ६.५ अंकसहित दोस्रो स्थानमा छन्। दोलखाका १९४० रेटेड आशिष फुयाल, काठमाडौंका २०३४ रेटेड सिएम पुरुषोत्तम सिलवाल तथा झापाका २०१९ रेटेड सुश्रुत दाहाल समान ५.५ अंकसहित टाइब्रेकका आधारमा शीर्ष पाँचमा रहेका छन्।

    त्यसैगरी झापाका १९४४ रेटेड राजन सुवेदी र ज्वाला इम्बुङ, सुनसरीका मुहान नरसिंह श्रेष्ठ, ललितपुरका १९४८ रेटेड एआईएम अभीक शाह, खोटाङका १९६९ रेटेड धिरेन राई, काठमाडौंका २००२ रेटेड सिएम पुरुषोत्तम चौलागाईं तथा ललितपुरका १९२० रेटेड कमल श्रेष्ठ शीर्ष स्थानका लागि प्रतिस्पर्धामा छन्।

    महिलातर्फ झापाकी शीर्ष वरीयताकी १७१० रेटेड कृतिसरा अधिकारीले ७ जित र १ बराबरीसहित स्पष्ट १.५ अंकको अग्रता बनाएकी छन्। राष्ट्रिय ‘बी’ प्रतियोगिताबाट छनोट भएकी झापाकी १६४८ रेटेड पूजा भण्डारीले ६ अंक र सोन्नेबोर्न–बर्जर टाइब्रेकमा २४.२५ अंक प्राप्त गर्दै दोस्रो स्थान बनाएकी छन्। समान ६ अंक भए पनि २१.७५ टाइब्रेक अंकसहित काठमाडौंकी वर्तमान वुमन च्याम्पियन १६६६ रेटेड सिन्दिरा जोशी तेस्रो स्थानमा छिन्।

    काठमाडौंकी १५३८ रेटेड एञ्जल महर्जन, झापाकी १५७२ रेटेड प्रिया क्षेत्री तथा काठमाडौंकी १६५२ रेटेड विनिता कपाली समान ५.५ अंकसहित शीर्ष पाँचभित्र पर्ने प्रयासमा छन्। दोलखाकी १४६२ रेटेड निहाना श्रेष्ठ, बाँकेकी १७०२ रेटेड ईशा गिरी, ताप्लेजुङकी १५४९ रेटेड शुशीला गुरुङ, झापाकी १६०३ रेटेड पुनम प्रसाईं तथा अनरेटेड नुमा सुब्बा पनि प्रतिस्पर्धामा छन्।

    अन्तिम दुई चरणको खेल बाँकी रहँदा एफएम रुपेश जैसवालले तेस्रो पटक नेपाल च्याम्पियन बन्ने सम्भावना बलियो बनाएका छन्।

    आगामी सेप्टेम्बरमा आयोजना हुने ४६औँ चेस ओलम्पियाडमा वर्तमान च्याम्पियनको हैसियतमा एफएम रुपेश जैसवाल र सिन्दिरा जोशीले सहभागिता जनाउने नेपाल बुद्धिचाल महासंघका सदस्य राजु ताम्राकारले जानकारी दिएका छन्। उनका अनुसार जारी प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने पुरुष र महिला खेलाडीले रुपेश र सिन्दिरासँगै उज्बेकिस्तानमा हुने चेस महाकुम्भको यात्रा तय गर्नेछन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend