ललितपुर: लिटिल एञ्जल्स डे बोर्डिङ स्कुलद्वारा आयोजित चौथो अन्तर–स्कुल चेस च्याम्पियनसिपमा छात्रतर्फ प्रलेश महर्जन र छात्रातर्फ अभिव्यक्ति तामाङ च्याम्पियन बनेका छन्।
२११ जना विद्यार्थी सहभागी प्रतियोगितामा छात्रतर्फ ९ चरणको प्रतिस्पर्धामा प्रलेश महर्जनले ८.५ अंक जोड्दै उपाधिसहित सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरे।
आश्मायु कडेल ८ अंकसहित दोस्रो तथा सुहङ्गेम लिम्बु ७.५ अंकका साथ तेस्रो भए। त्यसैगरी रनिश श्रेष्ठ चौथो, हृदय श्रेष्ठ माकजु पाँचौँ, उनेश मगराती छैटौँ, अमुल्य श्रेष्ठ सातौँ, धर्मेश श्रेष्ठ आठौँ, विश्वास गुरुङ नवौँ र प्रिन्स पाण्डे दशौँ स्थानमा रहे।
छात्रातर्फ ७ चरणको प्रतिस्पर्धामा अभिव्यक्ति तामाङले शतप्रतिशत अंक हासिल गर्दै उपाधि जितिन्। सुम्निमा राई ६ अंकसहित दोस्रो तथा दिया चापागाईं समान ६ अंकका साथ तेस्रो भइन्।
यसैगरी ऋतिशा ओझा चौथो, प्रकृति बस्नेत पाँचौँ, आकांक्षा थापा छैटौँ, श्याम्यावी पौडेल सातौँ, प्रिशा यादव आठौँ, प्रिशा ढकाल नवौँ तथा बिरुजा रेग्मी दशौँ स्थानमा रहे।
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक सरोज्ना राईले निरन्तर चौथो संस्करणसम्म चेस प्रतियोगिता आयोजना गर्दै आएको उल्लेख गर्दै यसले विद्यार्थीमा तार्किक तथा विश्लेषणात्मक सोच, एकाग्रता, स्मरणशक्ति, समस्या समाधान क्षमता र सही निर्णय गर्ने सीपको विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताइन्।
उनले चेसले धैर्यता, अनुशासन र दीर्घकालीन योजना बनाउने बानीको विकास गराउँदै मस्तिष्कलाई सक्रिय बनाउने तथा गणित र पठन–पाठनजस्ता शैक्षिक क्षमतामा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गरिन्।
प्रधानाध्यापक राईले प्रतियोगिताको सफल आयोजनामा प्रमुख निर्णायक फिडे आर्बिटर सोराज ताम्राकार, संयोजक विनोय कुमाइ, शिक्षिका राजश्री श्रेष्ठ तथा सीमा खड्काको योगदानको प्रशंसा गर्दै बधाई ज्ञापन गरिन्। साथै विद्यालयमा नियमित रूपमा चेस कक्षा सञ्चालन गरिने जानकारी पनि दिइन्।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend