logo

२०८३ असोज ६ मंगलबार

एशियन युथ ब्लिट्ज चेसमा पुरुषोत्तम सिलवालको ऐतिहासिक सफलता, नेपालका लागि चौथो स्थान

एशियन युथ ब्लिट्ज चेसमा पुरुषोत्तम सिलवालको ऐतिहासिक सफलता, नेपालका लागि चौथो स्थान


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ साउन २०८३
  • 2.1K
    SHARES

    काठमाडौं, साउन ८: नेपाली बुद्धिचालका प्रतिभाशाली खेलाडी क्यान्डिडेट मास्टर (सीएम) पुरुषोत्तम सिलवाल ले चीनको शेन्जेनमा सम्पन्न २८औँ एशियन युथ ब्लिट्ज चेस च्याम्पियनसिप मा ऐतिहासिक सफलता हासिल गर्दै चौथो स्थान प्राप्त गरेका छन्।

    एशियाका उत्कृष्ट युवा खेलाडीबीच भएको प्रतिस्पर्धामा सिलवालले हासिल गरेको यो नतिजा नेपाली बुद्धिचाल इतिहासकै उल्लेखनीय उपलब्धिमध्ये एक भएको नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन ले बताएका छन्।

    चाइनिज चेस संघको आयोजनामा जुलाई २४ मा सम्पन्न प्रतियोगिता ३ मिनेट + २ सेकेन्ड इन्क्रिमेन्टको ब्लिट्ज विधामा ९ चरणको स्विस प्रणालीअनुसार सञ्चालन भएको थियो। प्रतियोगितामा एशियाका ३२ राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको थियो।

    २०५३ अन्तर्राष्ट्रिय रेटिङ भएका सिलवाल २२औँ वरीयतामा रहेर प्रतियोगितामा सहभागी भएका थिए। उत्कृष्ट प्रदर्शन गर्दै उनले ६.५ अंक जोडेर चौथो स्थान हासिल गरे। प्रतियोगितामा उनले २३४५ प्रदर्शन रेटिङ (Performance Rating) कायम गर्दै १३६.८ रेटिङ अंक पनि थपेका छन्।

    सिलवालले पहिलो तीन चरणमा क्रमशः चीनका १७४१ रेटेड चेन सिन्सुओ, रुसका २३४९ रेटेड एफएम इफिमोभ लियोनिद तथा भियतनामका २१७१ रेटेड एफएम डाङ आन मिन्ह लाई पराजित गरेका थिए।

    चौथो चरणमा काजाखस्तानका २१५५ रेटेड एफएम बोलात इनायत सँग पराजित भएका सिलवालले पाँचौँ चरणमा भियतनामका २२५३ रेटेड आईएम बान्ह जिया हुई लाई हराए। छैटौँ चरणमा उनले भियतनामका २३५१ रेटेड आईएम फाम ट्रान जिया सँग बराबरी खेले।

    त्यसपछि सातौँ चरणमा हङकङका २१३९ रेटेड सीएम काओ जेमिसन एड्रिच तथा आठौँ चरणमा चीनका २३६७ रेटेड चे जियाचेन लाई पराजित गर्दै उनी उपाधि दाबेदार बनेका थिए।

    तर स्वर्ण पदकको सम्भावना बोकेको अन्तिम खेलमा सिलवाल भियतनामका एफएम डुओङ भु आन सँग पराजित भए। डुओङले ७.५ अंकका साथ उपाधि जित्दा, फिलिपिन्सका आईएम आर्का क्रिस्टियन जियान कार्लो ७ अंकसहित दोस्रो र भारतका एफएम माधवेन्द्र प्रताप शर्मा पनि ७ अंकसहित टाइब्रेकका आधारमा तेस्रो स्थानमा रहे।

    सिलवालले ६.५ अंक जोड्दै टाइब्रेकका आधारमा चौथो स्थान हासिल गरे। समान ६.५ अंक भएका अन्य चार खेलाडी क्रमशः पाँचौँदेखि सातौँ स्थानमा रहे।

    नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकार ले एशियाका उत्कृष्ट युवा खेलाडीहरूमाझ सिलवालले नेपालको प्रतिस्पर्धात्मक क्षमता प्रमाणित गरेको बताउँदै भविष्यमा अझ उच्च सफलता हासिल गर्ने सम्भावना उज्ज्वल रहेको उल्लेख गरे।

    उनले हालका वर्षहरूमा नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा निरन्तर प्रभावशाली प्रदर्शन गरिरहेको र त्यसको सकारात्मक प्रभाव आगामी बुद्धिचाल ओलम्पियाडमा पनि देखिने विश्वास व्यक्त गरे।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend