logo

२०८३ साउन १३ बुधबार

माछापुच्छ्रे आईबी वर्ल्ड स्कुलको ग्रेड–६ कक्षा दिवस भव्य रूपमा सम्पन्न

माछापुच्छ्रे आईबी वर्ल्ड स्कुलको ग्रेड–६ कक्षा दिवस भव्य रूपमा सम्पन्न


हाम्रो राष्ट्र
  • मंगलबार, १२ साउन २०८३
  • 2.1K
    SHARES

    ललितपुर। माछापुच्छ्रे आईबी वर्ल्ड स्कुल, कुसुन्ती हाइट, ललितपुरले ग्रेड–६ का विद्यार्थीहरूको कक्षा दिवस (Class Day Program) विविध सांस्कृतिक, शैक्षिक तथा प्रतिभामूलक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ।

    कार्यक्रमको उद्घाटन एमसीद्वारा गरिएको थियो भने सभाध्यक्षको आसन ग्रहणसँगै राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। त्यसपछि तुलसीमा जल अर्पण गरी शुभारम्भ गरिएको कार्यक्रममा विद्यालयको अर्केस्ट्राद्वारा ‘नाच्छ फिरिरी’, स्वागत नृत्य ‘पञ्च बुद्ध’, तेक्वान्दो प्रदर्शन, ब्याण्ड प्रस्तुति, जिम्नास्टिक्स, विद्यार्थीहरूको लाइभ एकाउस्टिक सङ्गीत, ‘सर सर पैला’ नृत्य, चिनियाँ गीत, आधुनिक नृत्य, कला प्रदर्शनी तथा सांस्कृतिक विविधता झल्काउने विशेष प्रस्तुति आकर्षणका केन्द्र बने।

    कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका चेयरम्यान तथा प्रमुख कार्यकारी अधिकृत (CEO) डा. विनोद प्रसाद यादवले अन्तर्राष्ट्रिय स्तरको शिक्षासँगै विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता, सिर्जनशीलता र नैतिक मूल्यलाई विद्यालयले समान प्राथमिकतामा राख्दै आएको बताए। उनले यस्ता कक्षा दिवस कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, प्रस्तुतीकरण क्षमता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

    विद्यालयका प्राचार्य होमनाथ आचार्यले विद्यालयले शैक्षिक उत्कृष्टतासँगै सह–पाठ्यक्रम गतिविधिलाई पनि बराबर महत्व दिँदै आएको बताउँदै विद्यार्थीको समग्र विकास नै विद्यालयको प्रमुख उद्देश्य रहेको धारणा व्यक्त गरे। उनले अभिभावकहरूको निरन्तर सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै विद्यार्थीलाई भविष्यका जिम्मेवार विश्व नागरिकका रूपमा तयार पार्ने प्रतिबद्धता दोहोर्याए।

    कार्यक्रममा विद्यार्थीहरूले आफ्ना सिकाइ अनुभव तथा विद्यालय यात्राबारे प्रतिबिम्ब (Reflection) प्रस्तुत गरेका थिए, जसले उपस्थित अभिभावक र अतिथिहरूलाई भावुक बनाएको थियो।

    कार्यक्रमको समापनमा विद्यालयका कोअर्डिनेटर रवीन्द्र घिमिरेले समापन मन्तव्य व्यक्त गर्दै सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा सहयोगीप्रति धन्यवाद ज्ञापन गरे। उनले यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्नुका साथै विद्यालय–अभिभावक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend