काठमाडौं, साउन ३१: एआईसिएफको आयोजनामा सेप्टेम्बर १७ देखि २६ तारिखसम्म भारतको मुम्बईमा सञ्चालन हुने एशियन जुनियर चेस च्याम्पियनसिपमा सहभागी हुन नेपाली चेस टोली भारत प्रस्थान गरेको छ।
नेपाल बुद्धिचाल महासंघको पहलमा सहभागी टोलीमा जुनियर च्याम्पियन युवा खेलाडी एआईएम अभिक शाह र दानिशा पुरीलगायत रहेका छन्। टोलीलाई महासंघका प्रवक्ता राजु ताम्राकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।
प्रतियोगिताको प्रोटेस्ट तथा अपिल कमिटीमा महासंघका अध्यक्ष हेराकाजी महर्जन र फिडे आर्बिटर एफए सोराज ताम्राकारले निर्णायकको भूमिका निर्वाह गर्नेछन्।
एशियन जुनियर चेस च्याम्पियनसिपमा क्लासिकल, र्यापिड र ब्लिट्ज गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ। क्लासिकलतर्फ ९ चरण तथा र्यापिड र ब्लिट्जतर्फ समान ७ चरणका खेल सञ्चालन हुनेछन्। प्रतियोगितामा ६ राष्ट्रका ६२ खेलाडीले स्वर्ण, रजत र कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।
फिडेको आधिकारिक प्रतियोगिताका रूपमा रहेको यस स्पर्धामा विजेताले अन्तर्राष्ट्रिय मास्टर (आईएम) टाइटलका साथै ग्रान्डमास्टरका लागि नर्म हासिल गर्ने अवसर पाउनेछन्। उपविजेता र तृतीय स्थान हासिल गर्ने खेलाडीले फिडे मास्टर (एफएम) टाइटल तथा अन्तर्राष्ट्रिय मास्टर नर्म प्राप्त गर्नेछन्।
नेपालका १९४८ रेटेड एआईएम अभिक शाहले आफ्नो तयारी राम्रो रहेको बताउँदै प्रतियोगितालाई सुखद नतिजासँगै टाइटल हासिल गर्ने अवसरका रूपमा लिएको बताए।
प्रतियोगितामा उच्च वरीयताका २४७७ रेटेड आईएम पिङ्गिन अर्टेम, २४०४ रेटेड आईएम आदित्य धिङ्ग्रा र २३८५ रेटेड एफएम लोमादोभ अमानु मोहम्मदले अभिकलाई चुनौती दिनेछन्।
गर्ल्स विधातर्फ नेपालकी दानिशा पुरीले प्रतियोगिताबाट अनुभव बटुल्दै अप्रत्याशित नतिजा निकाल्ने लक्ष्य रहेको बताइन्। उनले उच्च वरीयताका डब्लुएफएम स्वारालक्ष्मी (२२१३), डब्लुएफएम सोरादोभा लारा (२२०७) र डब्लुएफएम प्रतिती वोर्डोलोई (२१२९) लगायत खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन्।
एशियन चेस फेडेरेशन तथा फिडेको तत्त्वावधानमा सञ्चालन हुने प्रतियोगितामा नेपालका तर्फबाट सहभागी फिडे आर्बिटर सोराज ताम्राकारले थप ग्रेडिङ नर्म प्राप्त गर्ने सम्भावना रहेको अध्यक्ष महर्जनले जानकारी दिए।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend