काठमाडौँ — नेपाल रसिया आर्ट क्लब र सुष्मा आर्ट ग्यालेरीले काठमाडौँस्थित रसियन हाउसको सहकार्यमा संयुक्त सामूहिक चित्रकला प्रदर्शनी २०२६ (Group Painting Exhibition 2026) को आयोजना गरेका छन्। यो प्रदर्शनी कमलपोखरीस्थित रसियन हाउसको परिसरमा सञ्चालन भइरहेको छ।
यस वर्षको प्रदर्शनीले नेपाल र रूसबिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ (२० जुलाई १९५६ मा स्थापित) लाई स्मरण गर्दै ऐतिहासिक महत्त्व बोकेको छ। यसले दुई देशबिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, सांस्कृतिक आदानप्रदान, आपसी सम्मान र द्विपक्षीय सहयोगको उत्सव मनाएको छ।
प्रदर्शनीको औपचारिक उद्घाटन समारोह सेप्टेम्बर ९, २०२६ का दिन रसियन हाउसको सभाहल/लभिमा आयोजित गरिएको थियो। कार्यक्रममा सांसद, कूटनीतिज्ञ, सामाजिक अगुवा तथा ललितकलाप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुआतमा कार्यक्रम सञ्चालक (MC) माधव प्रधानले काठमाडौँस्थित रसियन हाउसकी निर्देशक आनास्तासिया खोखलोभालाई आमन्त्रण गरी विशिष्ट अतिथिहरूलाई परम्परागत खादा अर्पण गराउनुभएको थियो। त्यसपछि मुख्य अतिथि तथा विशिष्ट अतिथिहरूले परम्परागत पानास बालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।
नेपाल रसिया आर्ट क्लबका सचिव मदन श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कलाकार धर्मराज शाक्यले प्रदर्शनीमा राखिएका चित्रकलाहरूबारे प्रकाश पार्नुभएको थियो। समारोहका क्रममा नेपाल रसिया आर्ट क्लबले आफ्नो नयाँ कार्यसमितिको समेत औपचारिक घोषणा गरेको थियो।
समारोहलाई सम्बोधन गर्दै रसियन हाउसकी निर्देशक आनास्तासिया खोखलोभाले सबैमा शुभकामना व्यक्त गर्दै सात दशकदेखि नेपाल र रूसबिचको कूटनीतिक सम्बन्ध तथा नागरिकस्तरको मित्रतालाई प्रगाढ बनाउन कला र सांस्कृतिक आदानप्रदानले निरन्तर भूमिका खेलेको बताउनुभयो। त्यसैगरी, प्रतिनिधि सभा सदस्य माननीय भूमिका सुब्बाले पनि शुभकामना सन्देश दिँदै कलात्मक अभिव्यक्तिका लागि साझा मञ्च तयार पारेकोमा आयोजकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय पद्मा अर्यालले अन्तर्राष्ट्रिय सांस्कृतिक सहकार्यको महत्त्वमाथि जोड दिँदै प्रदर्शनीमा राखिएका कलाकृतिहरूको प्रशंसा गर्नुभयो।
नेपाल रसिया आर्ट क्लबकी अध्यक्ष सुष्मा राजभण्डारीले धन्यवाद ज्ञापन गर्दै औपचारिक कार्यक्रमको समापन गर्नुभएको थियो। तत्पश्चात् आयोजक संस्था र रसियन हाउसकी निर्देशकका तर्फबाट प्रमुख अतिथिलाई मायाको चिनो (Token of Love) प्रदान गरियो। कार्यक्रमको अन्त्यमा सहभागी कलाकार तथा अतिथिहरूबिच सामूहिक तस्बिर खिच्नुका साथै भाइचारा अभिवृद्धि तथा छलफलका लागि जलपान (Networking Reception) को आयोजना गरिएको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend