काठमाडौँ — गत सन् २०२६ अगस्ट २६ (२०८३ भदौ) मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा पुगेको ठूलो जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै श्रीलंका सरकारले नेपाललाई १० लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराएको छ।
श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायाकेको निर्देशन बमोजिम गरिएको प्रतिबद्धता अनुसार उक्त आर्थिक सहयोग हस्तान्तरण गरिएको हो। परराष्ट्र मन्त्रालय, काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि श्रीलंकाली राजदूत रुवन्थी डेलपिटियाले नेपालका परराष्ट्रमन्त्री माननीय शिशिर खनाललाई सहायता रकम हस्तान्तरण गर्नुभयो।
भेटघाटका क्रममा राजदूत डेलपिटियाले श्रीलंका सरकार र त्यहाँका जनताका तर्फबाट प्राकृतिक विपत्तिमा ज्यान गुमाएका परिवारजनप्रति भावपूर्ण संवेदना प्रकट गर्दै गहिरो सहानुभूति व्यक्त गर्नुभयो। यो सहयोग रकम बाढी र पहिरो प्रभावित क्षेत्रका बासिन्दाको उद्धार, राहत तथा पुनर्नर्मार्ण कार्यमा प्रयोग गरिनेछ।
यस सहयोगले नेपाल र श्रीलंकाबीच रहेको लामो समयदेखिको मित्रवत सम्बन्ध, सहकार्य र ऐक्यबद्धतालाई थप उचाइमा पुर्याएको छ। विपद्को यो कठिन घडीमा नेपालसँगै उभिने प्रतिबद्धता जनाउँदै श्रीलंका सरकारले पुनर्लाभका कार्यमा थप सहयोगका सम्भावित क्षेत्रहरूबारे निरन्तर संवादमा रहने जनाएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend