logo

२०८३ असोज ६ मंगलबार

नेपाल–रूस साहित्यिक समाजद्वारा पुस्तक विमोचन तथा टोल्स्टोयको १९८ औँ जन्मजयन्ती सम्पन्न

नेपाल–रूस साहित्यिक समाजद्वारा पुस्तक विमोचन तथा टोल्स्टोयको १९८ औँ जन्मजयन्ती सम्पन्न


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ भाद्र २०८३
  • 494
    SHARES

    काठमाडौँ। नेपाल–रुस साहित्य समाज (NRLS) र रुसी भवन (रसियन हाउस) को संयुक्त आयोजनामा शुक्रबार, २५ भदौ २०८३ (११ सेप्टेम्बर २०२६) का दिन रुसी भवनको हलमा एक विशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महान् रुसी लेखक लियो टोल्सटॉयको १९८ औँ जन्मजयन्ती मनाइनुका साथै नेपाल र रुसका समकालीन महिला कविहरूको द्विभाषी कविता सङ्ग्रह ‘मातृभूमि र प्रेम’ (Of Motherland and Love) को विमोचन गरिएको थियो।

    कार्यक्रमको अध्यक्षता नेपाल–रुस साहित्य समाजका अध्यक्ष इन्जिनियर विष्णु बहादुर सिंहले गर्नुभएको थियो भने रुसी महासङ्घका कार्यवाहक राजदूत (मिनिस्टर काउन्सिलर) रिन्छेन राक्साएभ मुख्य अतिथि हुनुहुन्थ्यो। समारोहमा रुसी भवनकी निर्देशक आनास्टासिया खोखलोभा, उपाध्यक्ष इन्जिनियर चन्द्रकान्त आचार्य, लेखक रामबिन्दु श्रेष्ठ, समीक्षक प्रा. डा. गीता त्रिपाठी, कवि अभय श्रेष्ठ, वरिष्ठ कवयित्री उषा शेरचन तथा नई प्रकाशनका संस्थापक नरेन्द्रराज प्रसाईँ र इन्दिरा प्रसाईँ लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

    मस्कोबाट नेपाल-रुस सहयोग तथा मैत्री समाज (OSDN) को साहित्यिक आयोगकी अध्यक्ष तमारा भिक्टोरोभ्ना पोत्योमकिनाको भिडियो शुभकामना सन्देश प्रस्तुत गरिएको थियो भने कार्यक्रमको सञ्चालन रुसी भवनकी भावना न्यौपानेले गर्नुभएको थियो। नेपाल र रुसबिचको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठको अवसरमा प्रकाशित यस काव्यसङ्ग्रहमा २१ रुसी र २० नेपाली महिला कविहरूका रचनाहरू समावेश गरिएका छन्। प्रत्येक कवितालाई दुवै भाषामा अनुवाद गरिएको छ—नेपाली कवितालाई रुसीमा र रुसी कवितालाई नेपालीमा प्रस्तुत गर्दै नारी, प्रेम, मातृभूमि, शान्ति र मानवीय मूल्य जस्ता विषयहरूलाई समेटिएको छ।

    कार्यक्रममा रुस-नेपाल सांस्कृतिक सम्बन्धमा योगदान पुर्‍याएबापत सङ्ग्रहका लेखक तथा अनुवादकहरूलाई मस्कोस्थित रुस-नेपाल सहयोग तथा मैत्री समाजको तर्फबाट मुख्य अतिथि राक्साएभ र निर्देशक खोखलोभाले प्रशंसापत्र प्रदान गर्नुभएको थियो। साहित्यिक सत्रमा लेखक रामबिन्दु श्रेष्ठले टोल्सटॉयको योगदान र पुस्तकको विषयवस्तुबारे प्रकाश पार्नुभएको थियो। समीक्षक प्रा. डा. गीता त्रिपाठी र कवि अभय श्रेष्ठले पुस्तकमाथि समीक्षात्मक टिप्पणी राख्नुभएको थियो, जसबापत उहाँहरूलाई रुसी भवनको तर्फबाट ‘मायाको चिनो’ (Token of Love) प्रदान गरियो।

    यसैबिच लेखक धिरज अमात्यले शान्ति, एकता र मैत्रीमा आधारित आफ्नो बालकथा ‘मित्रवनको गुफा’ को रुसी अनुवादित प्रति रुसी दूतावास, रुसी भवन र साहित्य समाजका प्रतिनिधिहरूलाई हस्तान्तरण गर्नुभएको थियो। समारोहको समापनमा बोल्दै मुख्य अतिथि रिन्छेन राक्साएभले यो कृतिलाई दुई देशबिचको साहित्यिक पुलको रूपमा वर्णन गर्नुभयो। निर्देशक आनास्टासिया खोखलोभाले सकारात्मक परिवर्तनका लागि साहित्यको शक्ति अतुलनीय हुने बताउनुभयो। सभापति इन्जिनियर विष्णु बहादुर सिंहले दुई देशबिचको साहित्यिक सम्बन्ध औपचारिक कार्यक्रममा मात्र सीमित नभई निरन्तर संवाद र अनुवादका माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिँदै धन्यवाद ज्ञापन गर्नुभएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend