पूर्वी भूमध्यसागरीय क्षेत्रका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) की क्षेत्रीय निर्देशक डा. हनान एच. बाल्खीले बिहीबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्नुभएको छ। भेटका क्रममा डा. बाल्खीले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावितहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद् व्यवस्थापन तथा उद्धारमा नेपाल सरकारले देखाएको नेतृत्वको प्रशंसा गर्नुभयो।
साथै, उहाँले डब्ल्यूएचओको महानिर्देशक पदका लागि आफ्नो उम्मेदवारी, सोच (भिजन) र प्राथमिकताहरू प्रस्तुत गर्दै नेपालसँग सहयोगको आग्रह गर्नुभयो। परराष्ट्रमन्त्री खनालले यस कठिन परिस्थितिमा साउदी अरेबियाले देखाएको ऐक्यबद्धताप्रति आभार व्यक्त गर्नुभयो।
मन्त्री खनालले जलवायु परिवर्तनका कारण नेपालजस्ता जोखिममा रहेका विकासोन्मुख राष्ट्रहरूले भोग्नुपरेको स्वास्थ्य जोखिम र रोगको भारबारे चर्चा गर्दै जलवायुजन्य स्वास्थ्य चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय सहयोग र सबल स्वास्थ्य प्रणालीको आवश्यकतामा जोड दिनुभयो। भेटघाटमा नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद ए. मुनैखिर र नियोग उपप्रमुख अब्दुलरहमान के. घोसामको पनि उपस्थिति रहेको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend