काठमाडौँ, २ असोज २०८३ (१८ सेप्टेम्बर २०२६) — नेपालका शैक्षिक परामर्श व्यवसायीहरूको छाता संस्था ‘नेपाल एशोसिएसन अफ अस्ट्रेलियन एजुकेसन रिप्रजेन्टेटिभ्स’ (NAAER) को आयोजना तथा ‘एजुकेसन पार्क’ को व्यवस्थापनमा आज हात्तीगौँडास्थित इम्पेरियल वर्ल्ड स्कुलमा रसुवा फ्लड रिलिफ च्यारिटी कप २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।
रसुवालगायत आसपासका क्षेत्रमा आएको विनासकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि खेलकुद र सामाजिक उत्तरदायित्वलाई जोड्दै यो परोपकारी फुट्सल प्रतियोगिता आयोजना गरिएको हो।
शैक्षिक क्षेत्रका विभिन्न १० वटा टोलीहरूको सहभागिता रहेको यस प्रतियोगितामा ३६० एजुकेसन सोलुसन्स, एआईईसी ग्लोबल, एजुकेसन पार्क, हब इन्टरनेसनल एजुकेसन, आइडिलिक एजुकेसन कन्सल्टेन्ट्स, ल्यान्डमार्क एजुकेसन, ओली एन्ड एसोसिएट्स, प्रोफेशनल एजुकेसन कन्सल्टेन्सी, वेद इन्टरनेसनल एजुकेसन र युनिक्याम्पस ग्लोबलले प्रतिस्पर्धा गरेका थिए। साथै डल्फिन एजुकेसन र ट्राभलर्स हब नेपालले प्रतियोगितालाई विशेष सहयोग पुर्याएका थिए।
प्रतिस्पर्धात्मक सेमिफाइनल खेलहरूमा एजुकेसन पार्कले ३६० एजुकेसन सोलुसन्सलाई र एआईईसी ग्लोबलले हब इन्टरनेसनल एजुकेसनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए। रोमाञ्चक फाइनल भिडन्तमा एजुकेसन पार्क प्राइभेट लिमिटेड ले उत्कृष्ट प्रदर्शन गर्दै रसुवा फ्लड रिलिफ च्यारिटी कप २०२६ को उपाधि चुम्न सफल भयो।
NAAER ले आफ्ना व्यावसायिक गतिविधिको साथसाथै विपद्को घडीमा सामाजिक उत्तरदायित्व बहन गर्दै मानवीय सेवामा समर्पित रहन यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको जनाएको छ। कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण सहभागी टोली, प्रायोजक, व्यवस्थापक तथा प्राविधिक सहयोग उपलब्ध गराउने इम्पेरियल वर्ल्ड स्कुलप्रति NAAER ले हार्दिक आभार व्यक्त गरेको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend