काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले धर्म, संस्कार, संस्कृतिले नेपालीकाबीच आपसी सद्भाव, भाइचारा कायम गर्दै राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आइरहेको बताएका छन् ।
हिन्दू धर्मावलम्बीको प्रमुख चाड महाशिवरात्रिको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा प्राकृतिक विविधताले भरिपूर्ण मुलुक भएको बताएका छन् ।
“हाम्रो मौलिक, धर्म, संस्कार, संस्कृति विश्वजगतमा नेपालको साझा चिनारी हुन, यी हाम्रा सम्पत्ति हुन, हाम्रो धार्मिक तथा सांस्कृतिक पर्वका कतिपय विकृत रुपलाई हटाउँदै लैजानेमा ध्यान दिन सबैमा आग्रह समेत गर्दछु”, उनले भनेका छन् ।
भगवान् शिवको प्रमुख पर्वको रुपमा मानिने महाशिवरात्रि पर्वले नेपालीका बीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि बनाउने उपराष्ट्रपति पुनको विश्वास छ । नेपाली सेना दिवसको अवसरमा पनि उपराष्ट्रपति पुनले नेपाली सेनाका प्रधान सेनापतिसहित सकल दर्जामा शुभकामना व्यक्त गरेका छन् ।
विश्व शान्ति स्थापनामा खेलिरहेको भूमिका र बढाइरहेको गौरवका लागि नेपाली सेनाको प्रशंसा गर्दै उनले आगामी दिनमा नेपाली सेनाले आफूलाई सुदृढ्, सशक्त र समय सापेक्ष आधुनीकीकरण गर्दै लैजाने विश्वास व्यक्त गरेका छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend