काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमको उपचार पद्धति सरल बनाउनुपर्ने बताएका छन् ।
बुधबार मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन प्रभावकारी बनाएर उपचार पद्धति सरल बनाइने बताए ।
“स्वास्थ्य बिमा कार्यक्रममा एकरूपता पनि भएन”, उनले भने, “जुन ढङ्गले बिमा कार्यक्रम लागू हुनुपर्ने हो, त्यो भएन । अब बिमा कार्यक्रमलाई प्रभावकारीरूपमा कसरी कार्यन्वयन गर्ने भन्नेमा सम्बन्धित पक्षसँग कुरा गरिरहेको छु ।”
मन्त्री बस्नेतले राज्य स्वास्थ्य क्षेत्रमा लगानी गरेअनुसार प्रतिफल नपाएकोसमेत बताए । स्वास्थ्य मन्त्रालयले आफ्नो काममा सुधार गर्नुपर्ने उनको भनाइ थियो । उनले मन्त्रालयमा काम गर्ने कर्मचारीलाई दण्ड र पुरस्कारको व्यवस्था गरेर सुधार गर्ने बताए ।
मन्त्री बस्नेतले स्वास्थ्य नीति राम्रो बनाउन सके दातृ निकायले पनि लगानी गर्ने बताए । “स्वास्थ्य नीति राम्रो बनाउन सक्ने हो भने दातृ निकाय स्वास्थ्य क्षेत्रमा लगानी गर्न तयार रहेका छन्”, उनले भने, “हामीले स्वास्थ्य नीति बनाएर वैदेशिक सहयोग भित्र्याउनुपर्दछ ।”
उनले सुर्तीजन्य पदार्थमा कर थोरै भएकाले बढाउन पहल गर्ने बताए । “सुर्तीजन्य पदार्थको कर अत्यन्तै कम छ । कर बढाउँदा सुर्तीजन्य पदार्थ नखाएपछि स्वास्थ्य जोगिन्छ”, उनले भने ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend