काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको सार्वजनिक दुई मिनेट लामो ट्रेलरमा चलचित्रका मुख्य पात्र सबैलाई समावेश गरिएको छ ।
ट्रेलरमा एउटा केटीको लागी धेरै जना दाजुभाइले नै विवाह गर्दा आइपर्ने झमेलालाई देखाउन खोजिएको छ । ‘द पाल्म गुप्र प्रालि’ को ब्यानरमा निर्माण गरिएको चलचित्रले सामाजिक यथार्थ कथा बोल्ने चलचित्रका निर्माता शेखर लामाले जानकारी दिए। हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ लाई हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको हो ।
चलचित्र निर्देशन देव थापा, छायाङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन् । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन् । बाबुलाल लामा कार्यकारी निर्मातामा रहेको चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने स्क्रिन प्ले शेखर लामाको रहेको छ ।
चलचित्रमा सम्पादन तारा थापा, पाश्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीको रहेको छ । चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई डिसिएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend