logo

२०८३ साउन १४ बिहिबार

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुग्यो

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुग्यो


हाम्रो राष्ट्र
  • सोमबार, ४ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवं पहिरोमा परी सोमबार अपराह्नसम्म ६ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरोमा परी सङ्खुवासभामा एक, ताप्लेजुङमा तीन, पाँचथरमा एक र नुवाकोटमा एक गरी जम्मा ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    जसमध्ये पाँच पुरुष र एकजना बालिका रहेका छन् । साथै बाढी एवं पहिरामा परी सङ्खुवासभामा तीन, ताप्लेजुङमा दुई र पाँचथरमा एक गरी जम्मा ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ ।

    बाढी पहिरामा परी सङ्खुवासभामा २१, ताप्लेजुङमा तीन र पाँचथरमा पाँचजना गरी जम्मा २९ जना बेपत्ता अझै बेपत्ता भएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।

    बेपत्ताको खोजी कार्य जारी रहेको पनि उनले बताए । बाढी एवं पहिरोका कारण ३५ घर, १० गोठ, १३ पुल, पाँच उद्योग र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६७ वटा पशुचौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ९७ घरपरिवार विस्थापित भएका छन् ।

    साथै बाढी पहिराको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरामा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नाका साथै विभिन्न स्थानमा भएको बाटो अवरोधसमेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend