काठमाडौं । व्यक्ति हत्यामा १४ वर्ष कैद सजाय तोकिएर फरार एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले बुधबार अदालतमा पेस गरेको छ ।
विसं २०६६ मा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका मुस्ताङको थसाङ घर भई काठमाडौँको जोरपाटी बस्ने सम्राट शेरचनलाई काठमाडौँको गोकर्णेश्वरस्थित अत्तरखेलबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार कर्तव्य ज्यान मुद्दामा २०६७ सालमा मुस्ताङ जिल्ला अदालतबाट एक वर्ष चार महिना कैद ठहर भएको थियो । त्यसपछि पुनरावेदन अदालत बागलुङमा मुद्दा गएको थियो ।
प्रतिवादी सम्राट शेरचनको हकमा सुरू जिल्ला अदालतको फैसला उल्टी भई उनलाई सर्वस्वसहित जन्मकैद हुने ठहर भएको थियो । फैसलाउपर पुनः पुनरावेदन परेकामा सर्वाेच्च अदालतले २०७२ सालमा १४ वर्ष कैद सजाय हुने ठहर गरेको थियो ।
त्यसपछि फरार रहेका शेरचनलाई अत्तरखेलबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको उनले बताए ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend