logo

२०८३ साउन १४ बिहिबार

पुष्पलालको सपना पूरा गर्न कम्युनिष्ट पार्टीबीचको एकता अपरिहार्यः मन्त्री मोदी

पुष्पलालको सपना पूरा गर्न कम्युनिष्ट पार्टीबीचको एकता अपरिहार्यः मन्त्री मोदी


हाम्रो राष्ट्र
  • आइतबार, ७ साउन २०८०
  • 1.1K
    SHARES

    मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले नेकपाका संस्थापक महासचिव पुष्पलालको सपना पूरा गर्नका लागि नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।

    आइतबार पुष्पलाल स्मारक समितिले मोरङमा आयोजना गरेको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

    “पुष्पलालले जुन कुरालाई केन्द्र बिन्दुमा राखेर कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको हो त्यो कुरा प्राप्त गर्ने दिशामा अगाडि बढ्नका लागि नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य छ” मन्त्री मोदीले भने ।

    उनले पुष्पलालले देखाएको बाटोमा अगाडि बढ्नुको विकल्प नभएको समेत बताए । मन्त्री मोदीले पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीलाई पुनः एकीकृत गर्दै समाजवादको बाटोमा अगाडि बढ्नुपर्ने समेत बताए ।

    “एउटै बलियो कम्युनिष्ट पार्टी मार्फत आमूल परिवर्तनको सपना बोकेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नेे पुष्पलालको सपना साकार गर्नका लागि सबै कम्युनष्टिबीचको एकता अनिवार्य र अपरिहार्य छ” उनले भने, “पुष्पलाल श्रेष्ठको योगदानले नै अहिले कम्युनिष्ट पार्टीहरु यो स्थानमा आइपुगेका हौँ, यो गाम्भीर्यतालाई बुझेर नेपालका कम्युनिष्ट पार्टी अगाडि बढ्नुपर्छ ।”

    अर्को प्रसंगमा मन्त्री मोदीले प्रशासकीय र व्यवस्थापकीय सुधारमार्फत् सुशासन कायम गर्ने दिशामा आफू लागिरहेको समेत बताए । मन्त्री मोदीले सरुवा प्रणालीलाई पूर्व अनुमानयोग्य बनाउने आफ्नो तयारी रहेको समेत उल्लेख गरे ।

    उनले विराटनगरका सडक, खानेपानी, भवन, पुल लगायतका संरचना निर्माणका लागि आफूले सकेको बजेट प्रबन्ध गरेको बताए । “सांसद हुँदादेखि नै यहाँको विकासका लागि मैले सक्दो बजेटको प्रबन्ध गरेको छु” उनले भने, “अहिले पनि सबै क्षेत्रमा उतिकै मात्रमा बजेटको प्रबन्ध भएको छ, अझै अपुग छ त्यसलाई हामी पूर्णता दिँदै जानेछौँ ।”

    विराटनगरको पुष्पलाल चोकमा निर्माण भएको पुष्पलाल स्मृति स्मारक निर्माणमा बजेटको प्रबन्ध गर्नका लागि मन्त्री मोदीले खेलेको भूमिकाको समेत कार्यक्रममा प्रशंसा भएको थियो ।

    २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना गर्दा सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको मुक्तिको अभिभारा पूरा गर्ने लक्ष्य पुष्पलालले लिएका थिए । उनी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव थिए ।

    वि.सं १९८१ असारमा रामेछापमा जन्मिएका श्रेष्ठ वैचारिक रुपले सशक्त र प्रेरणादायी नेताका रुपमा परिचित छन् । २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा उनको निधन भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend