logo

२०८३ साउन १४ बिहिबार

ठेक्का सम्झौता भएको दुुई वर्षपछि जोमसोम–कागबेनी सडक निर्माण सुरु

ठेक्का सम्झौता भएको दुुई वर्षपछि जोमसोम–कागबेनी सडक निर्माण सुरु


हाम्रो राष्ट्र
  • शनिबार, २३ भाद्र २०८०
  • 1.3K
    SHARES

     

    म्याग्दी । ठेक्का सम्झौता भएको दुई वर्षपछि मुस्ताङको जोमसोम–कागबेनी सडक निर्माणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक विस्तार र कालोपत्र गर्न विसं २०७८ असोज ४ गते ठेक्का सम्झौता भएको थियो ।

    बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख प्रजापतिले ठेक्का सम्झौता भएको दुुई वर्षपछि निर्माण कम्पनीले प्रारम्भिक चरणको सडक विस्तारको काम थालेको जानकारी दिए । १३ किलोमिटर दूरीको जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न रौताह–आत्रेय जेभीले  २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

    “अठार महिनाको ठेक्का अवधिको म्याद थियो”, उनले भने, “धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनी दिएपछि दुई वर्षपछि ठेकेदारले दुई सय जना मजदुरका साथै उपकरण परिचालन गरेर प्रारम्भिक चरणको काम सुरु गरेका छन् ।”

    लागत अनुमानभन्दा आधा बढी रकम घटेर ठेक्का पारेको निर्माण कम्पनीले काम गर्न आनाकानी गरेपछि आयोजनाले कालोसूचीमा राख्ने चेतावनी दिएको थियो । यसअघि थप भएको छ महिनाको म्याद पनि आगामी असोज ३ गते सकिँदैछ । यो आयोजनाको हालसम्मको प्रगति एक चौथाइभन्दा कम छ ।

    यसअघि नै ग्राभेल भइसकेको जोमसोम–कागबेनी सडकको ग्रेड मिलाउने, विस्तार गर्ने, मेसिनरी, ग्यावीयन पर्खाल गर्ने, माटो कटिङ, फिलिङ, नाली निर्माण, चौडा र कालोपत्र गर्न ठेक्का लगाइएको थियो । मुख्य जिम्मेवारी लिएको आत्रेयले अलपत्र बनाएको योजना साझेदारमध्येको रौताह निर्माण कम्पनीले काम अघि बढाएको हो ।

    यो सडक कालोपत्र भएमा मुुस्ताङका बासिन्दाका साथै कागबेनी, मुक्तिनाथ तीर्थयात्रामा आउने भक्तजन र पर्यटकलाई सहज हुने बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिङ गुरुङले बताए ।

    जोमसोमदेखि चीनको सिमानामा रहेको कोरला नाका जोड्ने आठ वटा खण्डको एक सय १० किलोमिटर दूरीको सडकमध्ये छ वटा प्याकेजको ७५ किलोमिटर दूरीको सडक विस्तार र ग्राभेल गर्ने काम सकिएको छ । २५ किलोमिटर दूरीको चराङ–छोसेर खण्डको ८५ प्रतिशत निर्माण सकिएको छ । यो खण्ड स्तरोन्नति सकिएपछि जोमसोमदेखि कोरला नाका जोड्ने सबै खण्डको सडक गाभ्रेल हुने योजना प्रमुख प्रजापतिले बताए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend