logo

२०८३ साउन १४ बिहिबार

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि मनोनयन दस्तावेज पेस गरिने

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि मनोनयन दस्तावेज पेस गरिने


हाम्रो राष्ट्र
  • बुधबार, १० असोज २०८०
  • 1.2K
    SHARES

    कपिलवस्तु । कपिलवस्तुस्थित प्राचीन शाक्य गणराज्यको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मनोनयन दस्तावेज पेस गरिने भएको छ।

    तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न यही सेप्टेम्बर ३० (असोज १३ गते) भित्र प्रस्तावित मनोनयन दस्तावेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेश गरिने भएको छ। तिलौराकोट कपिलवस्तुलाई सम्भावित विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियाका लागि गठित निर्देशक समितिको आज लुम्बिनीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष एवं निर्देशक समितिका संयोजक डा ल्हारक्याल लामा (खेन्पो छिमे)को अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञद्वारा तयारी गरी अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञ डा डंकन मार्सलद्वारा तयार गरिएको रणनीतिक मनोनयन दस्तावेजको मस्यौदालाई पेस गर्ने निर्णय गरिएको हो।

    विश्व सम्पदा महासन्धिअनुसार सेप्टेम्बरभित्र तयार मस्यौदा मनोनयन दस्तावेज पुरातत्व विभाग हुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत विश्व सम्पदा केन्द्रमा पेश गरिने लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक एवं मनोनयन दस्तावेज तयारीका संयोजक ज्ञानिन राईले जानकारी दिए।

    अन्तिम मनोनयन दस्तावेज नेपाल सरकारले सन् २०२४ को फेब्रुअरी १ तारिखअगावै पेश गर्नुपर्ने युनेस्को महासन्धिमा उल्लेख छ।

    युनेस्को जापानिज फण्ड इन ट्रष्ट परियोजनाअन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङ्घमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाण जुटाएको थियो।

    बैठकमा कोषका उपाध्यक्ष एवं निर्देशक समितिका संयोजक डा लामाले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवश्यक प्रक्रियागत काम पूरा गर्नका लागि कोषका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।

    विश्व सम्पदा महासन्धिले तोकेको मापदण्ड र आधार पूरा गरेर शाक्य गणराज्यको राजधानी तिलौराकोट कपिलवस्तुलाई सन् २०२५ सम्ममा विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रक्रियागत काम गर्न निर्देशक समितिले निर्णय गरेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक राईले जानकारी दिए।

    उनले सरकारले आव २०७८/७९ को नीति तथा कार्यक्रममार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि नीति कार्यक्रम र बजेटमा राखिएको उल्लेख गर्दै अब सूचीकृतका लागि प्रक्रियागत काम मात्रै बाँकी रहेको बताए।

    निर्देशक समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव दामोदर गौतम, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, निर्देशक समितिका सदस्य सचिव एवं कोषका वरिष्ठ निर्देशक ज्ञानिन राई, पुरातत्व विभाग विश्व सम्पदा शाखा प्रमुख रमेश पौडेल, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याल, बोर्ड सदस्य गोपीकृष्ण शर्मालगायतको उपस्थिति रहेको थियो।

    तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत भए यो लुम्बिनीपछिको सबैभन्दा महत्त्वपूर्ण सम्पदा क्षेत्र बन्नेछ। रासस

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend