logo

२०८३ असोज ७ बुधबार

हेटौँडा सिमेन्ट उद्योगमा उत्पादन पुनः सुरु

हेटौँडा सिमेन्ट उद्योगमा उत्पादन पुनः सुरु


हाम्रो राष्ट्र
  • बिहिबार, ११ असोज २०८०
  • 1.3K
    SHARES

    मकवानपुर । करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले बिहीबारदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उद्योगले जनाएको छ ।

    बिग्रिएका उपकरण मर्मतसम्भार र थप उपकरण जडान गरी गरिएपछि उत्पादन सुरु गरिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।

    हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणले दिँदै आएको विद्युत आपूर्ति करिब आधाघण्टा अवरुद्ध हुँदा उत्पादन कार्यलाई नियमित राख्न कठिनाइ भएको उनले जानकारी दिए । उद्योगमा विद्युत् आपूर्तिको लागि छुट्टै फिडर जडान गरिए पनि आपूर्ति पटक–पटक अवरुद्ध हुँदा उत्पादन कार्यमा निकै समस्या भोग्नु परेकाले प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गर्न पत्राचार भइरहेको पनि महाप्रबन्धक कर्णले बताए ।

    सरकारको स्वामित्वमा रहेको उद्योग करिब चार दशक पुरानो हुँदै जाँदा सबै उपकरण पनि जीर्ण हुँदै गएकाले उत्पादन क्षमतामा कमी आएको उल्लेख गरिएकोे छ । साविक क्षमताअनुसार दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि अहिले दैनिक दस हजार बोरा मात्रै सिमेन्ट उत्पादन भएको उद्योग व्यवस्थापनले जनाएको छ ।

    सरकारले विसं २०३३ मा हेटौँडामा स्थापना गरेको उद्योगले २०४३ साल मङ्सिर २६ गतेदेखि व्यावसायिक उत्पादन गर्दै आएको थियो ।
    एक अर्ब ५० करोडको लगानीमा स्थापना गरिएको उद्योगले अहिले विभिन्न सहरमा दैनिक चार हजारदेखि पाँच हजार बोरासम्म मात्र सिमेन्ट बिक्रीवितरण भइरहेकाले पर्याप्त सिमेन्ट बिक्रीवितरण हुन नसक्दा निकै आर्थिक भार व्यहोर्न परेको उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend