logo

२०८३ असोज ७ बुधबार

नोभेम्बरमा बाइडेन र सी बीच भेट गराउने ह्वाइट हाउसको योजना

नोभेम्बरमा बाइडेन र सी बीच भेट गराउने ह्वाइट हाउसको योजना


हाम्रो राष्ट्र
  • शनिबार, २० असोज २०८०
  • 1.3K
    SHARES

     

    ह्वाइट हाउसले आगामी नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेट गराउने योजना बनाइरहेको वासिङ्टन पोस्टले जनाएको छ ।

    ह्वाइट हाउस प्रशासनका एक उच्च अधिकारीका अनुसार दुई मुलुकबीचको सम्बन्धलाई स्थिर बनाउने प्रयासका रूपमा दुई नेताबीच भेट गराउन लागिएको हो ।

    “बैठक पक्का हुनेछ”, भेटबारे औपचारिक घोषणा भइनसकेको भन्दै आफ्नो नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भने, “भेट गराउने योजनाको हामी प्रारम्भिक प्रक्रियामा छौँ ।”

    ह्वाइट हाउसका अर्का अधिकारीले बाइडेन चिनियाँ राष्ट्रपति जिनपिङसँग भेट्न उत्सुक हुनुभएको तर त्यसबारेमा अहिलेसम्म केही पुष्टि भइनसकेको बताउनुभएको उक्त अखबारले उल्लेख गरेको छ ।

    ती अधिकारीले आगामी साताहरूमा चिनियाँ विदेशमन्त्री वाङ यीले वासिङ्टनको भ्रमण गरेपछि दुई राष्ट्रपतिबीचको भेटको योजनाबारे स्पष्ट हुने जानकारी दिए ।

    “चीन र अमेरिकाबीच द्विपक्षीय संलग्नता र आदानप्रदानका बारेमा कुराकानी भइरहेको छ”, वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पङ्ग्युले भने, “दुवै पक्षलाई अवरोधहरू हटाउन, ठोस कार्यद्वारा मतभेदहरूको व्यवस्थापन गर्न तथा असल विश्वासका साथ संवादलाई बढाउन र सहयोग अभिवृद्धि गर्न एउटै दिशामा काम गर्न आवश्यक छ ।”

    वासिङ्टन पोस्टका अनुसार गत नोभेम्बरमा इन्डोनेसियाको बालीमा सम्पन्न जी–२० को बैठकका क्रममा दुई ठूला अर्थतन्त्रका प्रमुखहरूबीचको भेटपछि आगामी नोभेम्बरमा पहिलो व्यक्तिगत भेट हुनेछ ।

    बैठकमा दुवै राष्ट्रपतिले प्रत्यक्ष कूटनीतिको महत्वमाथि जोड दिँदै अमेरिका–चीन सम्बन्धलाई सही मार्गमा ल्याउन सकिने आशा व्यक्त गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend