logo

२०८३ असोज ७ बुधबार

बाख्राको दूधबाट बनेको चिजको माग उच्च

बाख्राको दूधबाट बनेको चिजको माग उच्च


हाम्रो राष्ट्र
  • सोमबार, २२ असोज २०८०
  • 1.2K
    SHARES

    तनहुँ । राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुँदै आएको छ । बाख्राको गुणस्तर वृद्धिको क्षेत्रमा अनुसन्धान गर्दै आएको कार्यक्रमले दूधको लागि प्रसिद्ध सानेन प्रजातिको बाख्राबाट चिज उत्पादन गर्दै आएको छ ।

    पाँच वर्ष पहिले अमेरिकाबाट आउनुभएका डेरिगोट एसोसिएसनका अध्यक्ष डेनियल लेनिले बाख्रा फार्ममै तीन महिना बसेर दूधबाट चिज बनाउने प्रविधि हस्तान्तरण गर्नुभएको थियो । राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत वुद्धिराम आचार्यले सोही प्रविधि सिकेर आफूहरुले दूधबाट चिज बनाउन सुरुवात गरेको जानकारी दिए ।

    चिज बनाउने तालिममा कार्यक्रमका कर्मचारी निरबहादुर राना र स्याङ्जाका बाख्रा पालक कृषक दिलबहादुर गुरुङ समेत सहभागी हुनुभएको कार्यक्रमले जनाएको छ ।

    “तत्कालीन समयमा बाख्राको दूधबाट चिज बनाउने बारेमा हामीलाई कुनै पनि जानकारी थिएन”, कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत आचार्यले भने, “चिज बनाउने तालिम पाएपछि अहिले यहाँ उत्पादित बाख्राको चिज पोखरा र केही मात्रामा बन्दीपुरमा समेत खपत हुने गरेको छ ।”

    कार्यक्रमको फार्ममा हाल सानेन जातका ५५ बाख्रा छन् । सानेन दूध दिने प्रजातिको बाख्रा हो । फार्ममा एउटा बाख्राले लैनो अवस्थामा करिब चार लिटरसम्म दूध दिने र हाल दैनिक करिब ४२ लिटर बाख्राको दूध सङ्कलन हुने गरेको उनले बताए ।

    एक किलोग्राम चिज उत्पादन गर्न करिब आठ लिटर दूध आवश्यक पर्ने र आफूहरुले मासिक करिब एक सय ५० किलोग्राम चिज उत्पादन गरी बिक्री गर्दै आएको अधिकृत आचार्यले जानकारी दिए । बाख्राको चिजको मूल्य बजारमा करिब तीन हजार किलोग्राम भए पनि यहाँ भने प्रतिकिलोग्रामको एक हजारमात्र लिने गरिएको छ ।

    पोखरामा आउने विदेशी पर्यटकले बाख्राको चिजको माग गरेपछि आफूले बाख्राको चिज किन्ने गरेको पोखराका व्यवसायी रवि दुवाले बताए । आफूले मोबाइलबाट चिज अर्डर गर्ने र खरिद रकम भने अनलाईन बैंकिङमार्फत कार्यक्रमको खातामा जम्मा गर्ने गरेको उनले जानकारी दिए ।

    “अहिले पोखरामा आउने अधिकांश विदेशी पर्यटकको रोजाइमा बाख्राकै चिज पर्ने गरेको छ”, व्यवसायी दुवाले भने, “बन्दीपुरको चिजलाई पर्यटकले समेत निकै मन पराएका छन् ।” राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र खुमलटारबाट दुई वर्ष पहिले उत्पादित बाख्राको चिजको परीक्षण गर्दा गुणस्तरीय देखिएपछि आफूहरुले पनि सबैको पहुँचमा पुगोस् भनेर बाख्राको चिज बिक्री खुला गरेको कार्यक्रमका संयोजक राजु कँडेलले बताए ।

    “बाख्राको चिजको माग अहिले काठमाडौँबाट समेत हुने गरेको छ तर पुर्याउन सकेका छैनौँ”, उनले भने, “हामीले चिज उत्पादनसँगै विभिन्न प्रजातिका बाख्राको नश्ल सुधारमा अनुसन्धान गर्दै आइरहेका छौँ ।” बाख्राको दूध र चिज क्यान्सर प्रतिरोधात्मक भएको भन्दै अधिकांशले चिजको बारेमा चासो राख्ने गरेकोसमेत संयोजक कंडेलले बताए ।

    कार्यक्रममा हाल बोर र सानेनलगायतका बाख्राको बारेमा अनुसन्धान भइरहेको छ । विसं २०७१ मा कृषि खाद्य सुरक्षा आयोजनामार्फत अष्ट्रेलियाबाट ५० वोर बाख्राको माउ र सात वटा बोका ल्याएपछि बाख्राको नश्ल सुधारमा अनुसन्धान सुरु गरिएको कार्यक्रमले जनाएको छ ।

    कार्यक्रमले अगुवा बाख्रा उत्पादक कृषकलाई पशु कार्यालयको सिफारिसमा सुपथ मूल्यमा बोर, खरी र सानेन प्रजातिका बाख्राको बाठोसमेत उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा हाल अनुसन्धानको लागि बोर, सानेन, खरी, सिन्हाल, बारबारी, जमुनापारीलगायतका करिब पाँच सय बाख्रा छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend