काठमाडौँ । नेकपा एमालेले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले शनिवार गरेको आक्रमणको घटनाप्रति निन्दा गरेको छ । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गरी आक्रमणको निन्दा र भर्त्सना गरेका हुन् ।
साथै एमालेले घटनामा परी घाइते भएकाहरूको तत्काल उपचार, अप्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनेहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितता गर्न नेपाल सरकारसँग माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘निर्दोष नागरिक, बृद्धबृद्धा र बालबालिकाको हत्या र अपहरण जस्ता अमानवीय कार्यले प्यालेस्टिनी जनताले उठाउँदै आएको समस्या समाधान गर्दैन बरु थप बढाउन मद्दत गर्छ भन्ने हाम्रो पार्टीको ठम्याइ छ । नेकपा एमाले घटनामा परी निधन हुनेहरूप्रति श्रद्धाञ्जलीका साथै समस्त आफन्तजनप्रति समवेदना व्यक्त गर्दछ ।’
आक्रमणमा नेपालीहरूको समेत ज्यान जानुका साथै ठुलो सङ्ख्यामा घाइते भएको समाचार आइरहेको तथा कयौँ अप्ठ्यारो परिस्थितिमा परेको सूचना आइरहेको भन्दै अध्यक्ष ओलीले ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका विभिन्न विश्व विद्यालयका विद्यार्थीमध्ये १० जनाको निधन भएकोमा अत्यन्त दुःखी भएको बताएका छन् ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend