काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीभित्र खुसी र सन्तुष्टि ल्याउन आवश्यक रहेकोे बताउनुभएको छ । पश्चिम नवलपरासीबाट बिहीबार सुरु गरेको दोस्रो चरणको संवाद यात्रामा उहाँले नेपाली कांग्रेस पार्टीले आफ्ना सबै कार्यकर्तामा खुसी ल्याउनुपर्छ भन्नुभएको हो ।
महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बा को संज्ञा दिदैँ प्रश्न गर्न नहुने बताउनुभयो । त्यस्तै रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई पनि भगवानको संज्ञा दिदैँ उहाँमाथि पनि प्रश्न गर्न नपाइने तर्क गर्नुभयो । नेपाली कांग्रेसभित्र भने पार्टी नेतृत्वमाथि प्रश्न गर्ने परिपाटी भएको महामन्त्री थापाको भनाई थियो ।
उहाँले नेपाली कांग्रेस पार्टीमा आठ लाख क्रियाशील सदस्य रहेका र नेपालको ठूलो पार्टी भएकाले ती सबै सदस्यमा खुसी र सङ्गठनप्रति उनीहरुमा क्रियाशीलता ल्याउनुपर्ने आवश्यकता आफूले देखेको धारणा राख्नुभयो ।
“यी सबै सदस्य खुसी भए भने देशका सबै मानिसलाई खुसी बनाउँछन् र यी सबै सदस्य आफैँमा थकित र निराश भए भने पार्टीमा त आउँदैन र देशमा पनि खुसियाली आउँदैन”, उहाँको भनाइ थियो । त्यसैले सबैभन्दा पहिला पार्टीले आफूभित्रै खुसी, सन्तुष्टि र विश्वास ल्याउन आवश्यक रहेको उहाँको तर्क थियो ।
पार्टीभित्रको लडाइँको अन्त्य गर्न सबै मिलेर जान आवश्यक रहेको पनि उहाँले बताउनुभयो । जिल्लाहरुमा जाँदा विविध खालका समस्याहरु देखिएकाले तिनको निकास पनि जिल्लाबाटै निकाल्नुपर्ने महामन्त्री थापाको भनाइ थियो ।
उहाँले आउने संसदीय निर्वाचनमा नेपाली कांग्रेस कसैसँग गठबन्धन नगरी एकलै लड्ने पनि जानकारी दिनुभयो । उहाँले बिहीबार यहाँस्थित गुठ्ठी सूर्यपुरामा रहेको विपी कोइरालाको सालिकमा माल्यार्पण गरेर दोस्रो चरणको संवाद यात्राको सुरुआत गर्नुभएको थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend