logo

२०८३ असोज ७ बुधबार

जनतासँग गरिएका बाचा पाँच वर्षमा पूरा गर्छौँः उपसभापति खड्का

जनतासँग गरिएका बाचा पाँच वर्षमा पूरा गर्छौँः उपसभापति खड्का


हाम्रो राष्ट्र
  • शनिबार, २४ चैत्र २०८०
  • 5.4K
    SHARES

    काठमाडौँ, २४ चैतः नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबीच सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिनुभएको छ ।

    आज नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र पार्टीको सम्बन्ध विषयक प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका जनप्रतिनिधिलेनै पार्टीलाई बिर्सन थालेको अनुभूति हुँदै गएको गुनासो गर्नुभयो । उहाँले विधानमा व्यवस्था भएअनुसार जनप्रतिनिधि र पार्टी प्रतिनिधिबीच नियमित मासिक बैठक बस्नुपर्नेमा जोड दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

    “जित्नका लागि पार्टीको टिकट चाहिने, जिताउन सिङ्गो पार्टीपङ्क्ति चाहिने, कार्यकर्ताले निर्वाचन अवधिभर पसिना बगाउनुपर्ने तर चुनाव जितेपछि पार्टी बिर्सने गर्नु हुँदैन”, उहाँले भन्नुभयो ।

    उपसभापति खड्काले निर्वाचित भइसकेपछि पार्टी, पार्टीपङ्क्रि र कार्यकर्तालाई भूल्ने परिपाटीको अन्त्य हुन जरूरी रहेको बताउनुभयो ।

    “निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबीच छलफल भएर गरिएका निर्णयमा पार्टीको पनि अपनत्व हुन्छ”, उहाँले भन्नुभयो, “यसले पार्टी सङ्गठन निर्माणमा पनि महत्वपूर्ण काम गर्छ ।”

    पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका खड्काले निर्वाचनका बेला कांग्रेसको चुनाव चिन्ह बोकेर मत माग्न जाँदा जनतासँग गरिएका बाचाहरू पाँच वर्षभित्र पूरा गर्ने प्रतिवद्वता जनाउनुभयो । “स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचनमा मतदातासँग गरिएका बाचा पाँच वर्षभित्र पूरा गरेर छोड्छौँ”, उहाँले भन्नुभयो, “ती बाचाअनुसार भइरहेका कामबारे पार्टीका नेता तथा कार्यकर्ताहरूले जनताका बीचमा जानकारी गराउन आवश्यक छ ।”

    उहाँले हालै सम्पन्न पार्टीको महासमिति बैठकले दिएका सुझावलाई समेटेर अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पारित गरिने बताउनुभयो । “महासमिति बैठकबाट प्राप्त सुझावलाई केन्द्रीय समितिको बैठकले पारित गरेपछि पुस्तकको रूप दिएर देशभरका पार्टी कार्यकर्ताको हातहातमा पुर्याउँछौँ”, उहाँले भन्नुभयो, “महासमिति बैठकको सुझावका आधारमा टोलदेखि केन्द्रसम्म संगठन सुदृढीकरण र पार्टी पुनःनिर्माणको अभियान सुरू गर्छाैं ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend