logo

२०८३ असोज ७ बुधबार

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ–अध्यक्ष ओली

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ–अध्यक्ष ओली


हाम्रो राष्ट्र
  • बुधबार, २ जेष्ठ २०८१
  • 2.4K
    SHARES

    अध्यक्ष ओली काठमाडौँ, २ जेठ ः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली बुधबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै । तस्बिर ः नारायण न्यौपाने÷रासस

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादित संसदीय अभ्यासका लागि आफ्नो पार्टी निरन्तर समर्पित रहीआएको बताउनुभएको छ ।

    नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले प्रमुख प्रतिपक्षी दलले संसदमा प्रदर्शन गरिरहेको विरोधबाट आफूहरु आत्तिनुपर्ने कारण छैन भन्नुभयो ।

    उहाँले नेपाली कांग्रेसले बिना प्रमाण र कसूर कसैलाई आरोप लगाउँदैमा संसदीय समिति गठन हुन नसक्ने र अब संसद बैठक अवरुद्ध नहुने बताउनुभयो । “आरोपित व्यक्ति पहिले संसद्मा बोल्न पाउनुपर्छ, कांग्रेसले बोल्न पाउने अनि अन्यले नपाउने भन्ने हुन्छ ? उसले बोलेको हामीले मात्रै सुन्नपर्ने ? यस्तो संसदीय अभ्यास हुँदैन”,अध्यक्ष ओलीले भन्नुभयो ।

    उहाँले देश र जनताका कामप्रति सांसदहरू गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । संसदीय दलका नेता ओलीले भन्नुभयो, “ मर्यादित संसदीय अभ्यासका लागि हामी समर्पित छाँै, संसद् अविलम्ब सुचारू हुनुपर्छ । कांग्रेसले पनि अब संयमता अपनाउनुपर्छ ।”

    परिस्थितिको आँकलन गरी सबै राजनीतिक दललाई आफूहरुले मिलाएर लैजाने प्रयास गरिरहेको पनि उहाँको भनाइ थियो । अध्यक्ष ओलीले भन्नुभयो,“सदनमा भोलि हामी बहस गर्न तयार भएर जाऔँ, हामीले त्यहाँ बहस गर्न पाउनुपर्छ ।”

    पार्टी संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्ताैलले संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा एमाले सांसदले खेल्ने भूमिका र दिनुपर्ने सुझावका विषयमा छलफल भएको बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“सरकारमा रहेकाले सैद्धान्तिकरूपमा समर्थन गर्छाँै । पारित गर्ने स्वभाविक विषय भयो तर पनि कतिपय विषयमा सुझाव दिनुपर्ने छ । केही थप विषय समेट्न सकिन्थ्यो कि भन्ने लागेको छ ।”

    बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले संसदमा उठाउनुपर्ने र नीति तथा कार्यक्रममा समेटिएका विषयवस्तुबारे सांसदलाई प्रशिक्षण दिइरहनुभएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend