logo

२०८३ साउन १४ बिहिबार

पर्यटकका रोजाइमा इलाम

पर्यटकका रोजाइमा इलाम


हाम्रो राष्ट्र
  • सोमबार, २८ साउन २०८१
  • 1.1K
    SHARES

    default

    काठमाडौं । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कानुसार आव २०८०/८१ मा एक लाख ४१ हजार पाँच सय १७ जना पर्यटक इलाम भित्रिएका छन् । गत साउन १ देखि असार मसान्तसम्म एक लाख १७ हजार सात सय ४० आन्तरिक र २३ हजार सात सय ७७ जना विदेशी पर्यटक इलाम भित्रिएको केन्द्रका सूचना अधिकारी गगन घिमिरेले जानकारी दिनुभयो । सबैभन्दा कम भदौमा नौ सय १८ र सबैभन्दा बढी पुसमा ३६ हजार एक सय २३ जना पर्यटक इलाम घुम्न आएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

    पर्यटन सूचना केन्द्रको तथ्याङ्कानुसार अघिल्लो आव २०७९/८० मा एक लाख ३३ हजार चार सय ४५ पर्यटक भित्रिएका थिए । त्यसअघि आव २०७८/७९ मा एक लाख २९ हजार पाँच सय ८१ पर्यटक इलाम घुम्न आएका थिए । कोरोना सङ्क्रमण बेला आव २०७८/७९ मा २९ हजार आठ सय ११ जनामात्र इलाम घुम्न आएका थिए ।

    “जोरकलश प्रवेशद्वारबाट भित्रिएका पर्यटकको तथ्याङ्कमात्र हामीसँग छ, अन्य क्षेत्र माई नगरपालिकाको सुखानी, माङसेबुङ गाउँपालिकाको बाँझो, सूर्योदय नगरपालिकाको पशुपतिनगरबाट हजारौँ पर्यटक भित्रिने गरेका छन्”, सूचना अधिकारी घिमिरेले भन्नुभयो, “कोरोनाकालपछिका पछिल्लो वर्षहरूमा जिल्ला भित्रिने पर्यटकको सङ्ख्या बढ्दो छ ।”

    कोरोनाकालपछिका वर्षहरूमा जिल्लाका दर्जनौँ पर्यटकीयस्थल घुम्न एवं अवलोकन गर्न जिल्ला बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढेको पाइएको हो । इलामका पर्यटकीय क्षेत्रहरू झण्डीडाँडा, अन्तुडाँडा, कन्याम, फिक्कल, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पाटेनागी, भालुढुङ्गा, पानीटार, कुइभिर, गजुरमुखी, माङमालुङ, लारुम्बा, अन्धराजा अन्धरानीजस्ता क्षेत्रमा बर्सेनि आन्तरिक र बाह्य पर्यटक घुम्न आउने गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend