logo

२०८३ साउन १३ बुधबार

नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय

नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय


हाम्रो राष्ट्र
  • आइतबार, २० असोज २०८१
  • 1.6K
    SHARES

    नेपाल पत्रकार महासंघको प्रदेश तथा जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा आज राती सम्पन्न भएपछि सामुहिक तस्विर लिदै, भेलाले आगामी मंसीर २८ गते तीन तहकै निर्वाचन गर्ने निर्णय गरेको छ । तस्विर : रमेश गिरी, रासस

    भक्तपुर, २० असोजः नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ । नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिबार बिहानदेखि राष्ट्रिय भेला सुरु भएको थियो ।

    भेलाले आगामी मङ्सिर २८ गते शुक्रबार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको भेला सम्पन्न पछि महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।

    भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

    त्यस्तै सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको एक–एक जना प्रतिनिधि र शाखा अध्यक्ष रहनेगरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुङ्गो लगाउने निर्णय भएको महासचिव पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी कात्तिक मसान्तसम्म सदस्यता टुङ्गो लगाउने निर्णय गर्दै टुङ्गो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको छ ।

    नेपाल पत्रकार महासङ्घको सदस्यता विवादका कारण पटक–पटक तोकिएको निर्वाचनको मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आयोजना गरेको हो ।

    कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको भेलामा पूर्वकेन्द्रीय अध्यक्ष डा सुरेश आचार्य, डा महेन्द्र विष्ट, तारानाथ दाहाललगायत विभिन्न जिल्ला एवं प्रदेशका अध्यक्षहरूको सहभागिता थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend