काठमाडौं: कालिमाटी स्थित काठमाडौं इन्जिनियरिङ कलेजमा आज “दृष्टि-३” कार्यक्रम अन्तर्गत कविता गोष्ठी तथा कविता प्रतियोगिता सम्पन्न भयो। प्रमुख अतिथि कलेजका संस्थापक सञ्चालक तथा शिक्षाविद् डा. रामप्रसाद दाहालको उपस्थितिमा पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको आरम्भ गरियो।
देशभरका २५ वटा कलेजका ३५ जना कविहरूले सहभागिता जनाएर आफ्नो सशक्त कविता वाचन गरे। कार्यक्रममा वरिष्ठ साहित्यकार ठाकुर शर्मा भण्डारी, प्रा. माधव घिमिरे, इन्जिनियर तथा चिन्तक महेश सिंह कठायत, इन्जिनियर ईश्वर अधिकारी, बिनोद भण्डारी र अभिषेक भट्टराईजस्ता व्यक्तित्वहरूले कविता र इन्जिनियरिङका विभिन्न पक्षबारे चर्चा गरे।
कार्यक्रममा डा. दाहालले कविता भाषा लय र भावको उत्कृष्ट समायोजन हुनुपर्ने विचार व्यक्त गर्दै, “कवितामा कोइली बोल्नुपर्छ, काग कराउनु हुँदैन,” भन्ने दृष्टिकोण प्रस्तुत गरे।
प्रतियोगितामा सहभागी कविताहरूको मूल्याङ्कन निर्णायक समितिले गर्यो। कार्यक्रमको सभापतित्व इन्जिनियर अभिषेक भट्टराईले गरेका थिए भने सञ्चालन श्रेया ज्ञवालीले गरेकी थिइन्। कार्यक्रमका संयोजक गोकर्ण श्रेष्ठले स्वागत मन्तव्य दिए।
कार्यक्रमले साहित्य र प्राविधिक ज्ञानको उत्कृष्ट संयोजन प्रस्तुत गर्दै सहभागिहरूलाई प्रेरणादायी क्षण प्रदान गर्यो।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend