logo

२०८३ साउन १४ बिहिबार

‘विपन्न वर्गलाई ऊर्जा विकासमार्फत समृद्धिको यात्रामा जोड्ने गरी सरकारले काम गरिरहेको छ’

‘विपन्न वर्गलाई ऊर्जा विकासमार्फत समृद्धिको यात्रामा जोड्ने गरी सरकारले काम गरिरहेको छ’


हाम्रो राष्ट्र
  • शुक्रबार, ४ माघ २०८१
  • 1.8K
    SHARES

    काठमाडौँ: ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गरिब तथा विपन्न वर्गलाई ऊर्जाको विकासमार्फत समृद्धिको यात्रामा जोड्ने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।

    स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) नेपालको २५औँ रजतजयन्ती उद्घाटन सत्रमा आज उहाँले जलविद्युत् केन्द्रको शेयर बिनाधितो प्रभावित क्षेत्रका गरिब तथा विपन्न वर्गलाई दिने प्रबन्ध मिलाउन लागिएको बताउनुभयो ।

    “अहिले हुनेखाने वर्गले मात्र जलविद्युत् केन्द्रमा शेयर हालिरहेको अवस्था छ, सरकारले प्रभावित क्षेत्रका विपन्न वर्गलाई लक्षित गरी बिनाधितो शेयरको व्यवस्था गर्न लागेको छ”, मन्त्री खड्काले भन्नुभयो । उत्पादित विद्युत्को बजार सुनिश्चित रहेकाले ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई उहाँले आग्रह गर्नुभयो । मन्त्री खड्काले पहिले जलविद्युत् क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा धेरै समय लाग्ने गरे पनि हाल अधिकांश जलविद्युत् केन्द्रमा मोटरबाटोको पहुँच पुगेकाले काम गर्न थप सहज भएको बताउनुभयो ।

    उहाँले हालैको मन्त्रिपरिषद् बैठकले ऊर्जा विकास मार्गचित्र २०८१ पारित गरिसकेकाले उक्त मार्गचित्र कार्यान्वयनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । “सरकारले निजी क्षेत्रका समस्या राम्रोसँग बुझेको छ । ऊर्जा उत्पादनका क्रममा देखिएका नीतिगत समस्या समाधान गर्दै सरकार अगाडि बढ्छ । यसअघि ऊर्जा उत्पादनको जिम्मामात्र निजी क्षेत्रलाई दिए पनि हाल प्रसारण लाइनसमेत निजी क्षेत्रले बनाउन पाउने व्यवस्था गरिएको छ । यसको लाभ लिन निजी क्षेत्रलाई आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।

    इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जा विकास मार्गचित्र ऐतिहासिक हुने धारणा राख्नुभयो । ऊर्जा क्षेत्रको विकासमा देखिने समस्यालाई सरकारले समाधान गरेमा सरकारले राखेको लक्ष्य पूरा गर्न कुनै कठिनाइ नहुने उहाँको भनाइ थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend