काठमाडौं: गृहमन्त्री रमेश लेखक र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा शिष्टाचार भेट भएको छ।
भेटका क्रममा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सहकार्य सीमा सुरक्षाबलहरूबीचको सम्बन्ध र सहकार्य लागूऔषध ओसारपसार तथा दुर्व्यसन नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो।
त्यस्तै, कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा निर्माण भइरहेको एकीकृत भन्सार जाँच चौकी (आईसिपी) र सुरक्षासम्बन्धी समझदारीका विषयमा समेत दुबै पक्षले छलफल गरेका थिए।
गृहमन्त्री लेखक र अतिरिक्त सचिव महावरले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । साथै मन्त्री लेखकले शान्ति र सुरक्षाले समाज र विकासमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसमा दुबै देशले गम्भीरता देखाउनुपर्ने कुरामा जोड दिनुभएको छ।
गृहमन्त्रीको निजी सचिवालयका अनुसार यस बैठकले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend