काठमाडौँ: प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले नेपाल प्रहरी सम्बन्धी नयाँ विधेयकको स्वागत गर्दै नेपाल प्रहरीलाई दक्षिण एसियामा उत्कृष्ट मान्नुभएको छ। उहाँले विधेयकलाई कानूनी सुधार र एकीकरणको महत्त्वपूर्ण कदमको रूपमा प्रशंसा गर्दै प्रहरीको कार्यक्षेत्रलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता व्यक्त गर्नुभयो।प्रतिनिधि सभामा प्रहरी ऐन २०८१ को छलफलमा भाग लिंदै सांसद ढकालले भन्नुभयाे, “नेपाल प्रहरी अपराध अनुसन्धान र सरकारी वकिल अभियोजनसँग सम्बन्धित छ। मुलुकको सुरक्षा व्यवस्थामा बाह्य सुरक्षा नेपाली सेना र आन्तरिक सुरक्षा नेपाल प्रहरी द्वारा नियन्त्रित हुन्छ।” उहाँले प्रहरीको मुख्य जिम्मेवारी अपराध अनुसन्धान र शान्ति सुरक्षा प्रदान गर्नु भएको उल्लेख गर्दै, प्रस्तुत विधेयकले नेपालको प्रहरी सेवामा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो।सांसद ढकालले नेपाल प्रहरीको कार्यलाई दक्षिण एसियामा उत्कृष्ट मान्दै भन्नुभयाे “नेपाल प्रहरी दक्षिण एशियामा सबैभन्दा राम्रो हो, र अरुले पनि यसलाई स्वीकार गरेका छन्।” यसैगरी, उहाँले नयाँ विधेयकको महत्त्वलाई रेखांकित गर्दै भन्नुभयाे, “यो विधेयकले प्रहरी ऐन २०१२ लाई खारेज गर्दै संघीयता र संविधान कार्यान्वयनमा योगदान पुर्याउनेछ।”उहाँले प्रहरी संगठनलाई थप व्यवस्थित, व्यवसायिक, जनउत्तरदायी र पारदर्शी बनाउन नयाँ ऐनको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। सांसद ढकालले प्रहरीको मनोबल उच्च राख्ने र प्रविधिमैत्री बनाउने दिशामा ऐनले योगदान पुर्याउने टिप्पणी गर्नुभयाे। साथै, उमेर हद र अमर प्रहरीको व्यवस्थापनलाई स्वागतयोग्य मान्दै नयाँ ऐनले प्रहरी संगठनलाई अझ मजबुत र पेशेवर बनाउने बताउनुभयाे।सांसद ढकालले आइजिपीको नियुक्तिमा स्पष्ट व्यवस्था रहेको र राजनीतिक हस्तक्षेपको अन्त्यको पक्षमा रहेको बताउनुभयाे। “प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप रोक्न नयाँ ऐनले स्पष्ट व्यवस्था गरेको छ,” उहाँले बताउनुभयाे । यसले प्रहरीको प्राविधिक सेवामा थप स्पष्टता ल्याउनका लागि आवश्यक कदम पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend