नयाँ वर्ष २०८२ को अवसरमा एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस (EEVS) कुमारीपाटीले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अंग्रेजी निबन्ध लेखन प्रतियोगिताको आयोजना गर्यो। काठमाडौं उपत्यकाभित्रका विभिन्न प्लस टु तथा ब्याचलर तहका ६० भन्दा बढी विद्यार्थीहरू प्रतियोगितामा सहभागी भएका थिए।
शैक्षिक क्षेत्रमा समाज प्रतिको उत्तरदायित्व (CSR) अन्तर्गत यस कार्यक्रमले विद्यार्थीहरूलाई सामाजिक रूपले सान्दर्भिक विषयमा लेखन गर्ने अवसर प्रदान गरेको थियो। अंग्रेजी भाषामा लेखिएको निबन्धले उनीहरूको विश्लेषणात्मक सोच र प्रस्तुतीकरण क्षमतामा सुधार ल्याउने विश्वास आयोजकको थियो।
प्रतियोगिताको मुख्य समारोहमा राष्ट्रिय क्रिकेट खेलाडी तथा नेपाल क्रिकेट संघ (CAN) का महासचिव श्री पारस खड्का प्रमुख अतिथिको रूपमा सहभागी भए। उनले उत्कृष्ट विद्यार्थीहरूलाई बधाई दिँदै शैक्षिक र अन्य सबै क्षेत्रमा निरन्तर उत्कृष्टता हासिल गर्न प्रेरणा दिए। “लेखन एउटा यस्तो माध्यम हो जसले परिवर्तन ल्याउन सक्छ। यस्तो प्रतियोगिताले भविष्यका सक्षम नेतृत्वकर्ताको आधार तयार गर्छ,” उनले भने।
ईईभीएस ललितपुरकी निर्देशक श्रीमती देवी लम्सालले कार्यक्रममा सहभागी विद्यार्थीहरूको सक्रियता र सफलताले आफूलाई गर्व लागेको बताइन्। “हामी विद्यार्थीको सर्वाङ्गीण विकासमा योगदान दिन पाउँदा गौरव महसुस गर्छौं। शिक्षा केवल किताबमा सीमित हुन हुँदैन भन्ने हाम्रो मान्यता हो। यस्ता कार्यक्रमहरूले विद्यार्थीको व्यक्तित्व विकासमा ठूलो भूमिका खेल्दछन्,” उनले भनिन्।
प्रतियोगिताबाट ८ जना उत्कृष्ट विद्यार्थीहरूलाई नगद र जिन्सी पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमले नयाँ वर्षको स्वागत मात्र होइन, शिक्षामार्फत युवाहरूलाई सशक्त बनाउने उद्देश्यलाई समेत बलियो बनाएको देखिएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend