logo

२०८३ साउन १३ बुधबार

डिजिटल हिंसा बढ्दै, अब राष्ट्रिय चुनौती: मन्त्री खरेल

डिजिटल हिंसा बढ्दै, अब राष्ट्रिय चुनौती: मन्त्री खरेल


हाम्रो राष्ट्र
  • बिहिबार, २६ मंसिर २०८२
  • 2.4K
    SHARES

    Screenshot

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले छिटो बदलिँदो प्रविधिसँगै लैङ्गिक हिंसाको स्वरूप समेत गहिरो र जटिल बन्दै गएको बताएका छन्। उनले भौतिक रूपमा सुरक्षित वातावरणमा बसेको मान्छेले समेत सामाजिक सञ्जालको एक टिप्पणीले थरथर काँप्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै डिजिटल हिंसालाई अब गम्भीर राष्ट्रिय मुद्दाका रूपमा हेरिनुपर्ने आवश्यकता औँल्याए।

    सञ्चारिका समूह नेपालले आयोजित ‘लैङ्गिक हिंसा र सञ्चार माध्यमको भूमिका’ विषयक कार्यक्रममा उनले भने,

    “दिनभर थकाइ मारेर घरमै आराम गर्दै गर्दा फोन खोलेको केहीछिनमै मन अस्थिर हुने, डर लाग्ने, हृदयसम्म कड्किने अवस्था आउँछ भने त्यो हिंसा देखिँदैन तर गहिरोसँग घाउ बनाइदिन्छ। यही कारण अहिले डिजिटल सुरक्षाको बहस अनिवार्य बनेको छ।”

    उनका अनुसार डिजिटल माध्यमबाट फैलिने धम्की, चरित्रहत्या, अपमान र मनोवैज्ञानिक दवावले महिला, किशोरी, परिवारका सदस्य र सामाजिक सञ्जाल प्रयोग गर्ने जो–कसैलाई पीडित बनाइरहेको छ।

    “पीडित कोही पनि हुन सक्छ—आमा, दिदीबहिनी, साथी वा परिवारका अरू सदस्य,” उनले स्पष्ट पारे।

    मन्त्री खरेलले डिजिटल हिंसाले मानसिक तनाव, अवसाद तथा आत्महत्या जस्ता गम्भीर परिणाम निम्त्याइरहेको उल्लेख गर्दै भौतिक सुरक्षा मात्रै अब पर्याप्त नहुने बताए।

    उनले सामाजिक सञ्जाल प्रयोगका नियम, सुरक्षा उपाय, गोपनीयता र जिम्मेवार व्यवहारबारे देशभर व्यवस्थित डिजिटल साक्षरता फैलाउनुपर्नेमा जोड दिए।

    सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्यालले डिजिटल माध्यमले ल्याएको हिंसा “अदृश्य तर अत्यन्त डर लाग्दो” किसिमको भएको भन्दै पत्रकार र सञ्चार माध्यमले पीडितमैत्री सामग्री उत्पादनमा अझै ध्यान दिनुपर्ने उल्लेख गरिन्।

    सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थी र संस्थापक अध्यक्ष बन्दना राणाले डिजिटल माध्यममा बढ्दो नकारात्मक आक्रमण विशेषगरी महिलामाथि बढी केन्द्रित रहेको बताए। राणाले परिवेश परिवर्तनसँगै हिंसाका रूप पनि बदलिएपछि महिलालाई अझ सतर्क र सक्षम बनाउनु अपरिहार्य भएको बताइन्।

    पत्रकार महासंघकी उपाध्यक्ष नितु पण्डितले प्रविधिको तीव्र विकाससँगै सञ्चार माध्यमले जिम्मेवारी र संवेदनशीलता दुवै बढाउनुपर्ने धारणा व्यक्त गरिन्।

    निवर्तमान अध्यक्ष बिमला तुम्खेवाले परिवार, पेशा र सामाजिक भूमिकामा महिलाले वहन गर्ने दोहोरो-तेहोरो जिम्मेवारीका बीच पनि पत्रकारितामा सक्रियता देखिनु प्रेरणादायी रहेको बताइन्।

    प्रेस काउन्सिल नेपालकी बोर्ड सदस्य निमा काफ्लेले काउन्सिलमै डिजिटल हिंसासम्बन्धी उजुरीको संख्या बढ्दो भएको उल्लेख गर्दै हरेक पक्षले सजग हुनुपर्ने आग्रह गरिन्।

    उपाध्यक्ष बसन्ती वास्तोलाले सम्पूर्ण सञ्चार माध्यमले प्रकाशन–प्रसारणमा संवेदनशीलता अपनाउनुपर्ने र डिजिटल हिंसाको चपेटामा सबैभन्दा बढी महिला परिरहेका कारण विशेष ध्यान आवश्यक रहेको बताइन्।

    कार्यक्रम महासचिव राधा खनालले सञ्चालन गरेकी थिइन्। कार्यक्रममा महिलासम्बन्धी मुद्दामा नियमित कलम चलाउँदै आएका करिब ७० जना पत्रकारको सहभागिता थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend