logo

२०८३ साउन १४ बिहिबार

एकल महिलाको आत्मसम्मान बढाउन वडा २९ को विशेष सम्मान कार्यक्रम

एकल महिलाको आत्मसम्मान बढाउन वडा २९ को विशेष सम्मान कार्यक्रम


हाम्रो राष्ट्र
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • 403
    SHARES

    काठमाडौं, जेठ :    काठमाडौं महानगरपालिका वडा नं. २९ ले एकल महिलाहरूको योगदानको कदर गर्दै विशेष सम्मान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सहभागी एकल महिलाहरूलाई सल ओढाएर सम्मान गरिएको थियो भने साडी उपहार प्रदान गर्दै उहाँहरूप्रति समाजको सम्मान, अपनत्व र कृतज्ञता व्यक्त गरिएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री, पूर्वसांसद तथा समाजसेवी दीपेन्द्र श्रेष्ठले एकल महिलाहरूको सम्मान, अधिकार र आत्मसम्मानको पक्षमा आफू सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले एकल महिलाहरूले जीवनका अनेकौँ चुनौती सामना गर्दै परिवार र समाजका लागि पुर्‍याएको योगदान अतुलनीय रहेको बताउँदै राज्य र समाजले उहाँहरूको सम्मान, सुरक्षा र अवसर सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो।

    उहाँले भन्नुभयो, “एकल महिलाहरू समाजका कमजोर पात्र होइनन्, संघर्ष, साहस र आत्मविश्वासका प्रेरणादायी उदाहरण हुनुहुन्छ। उहाँहरूको हक, अधिकार र सम्मानका लागि म सधैँ साथमा रहनेछु। कुनै पनि समस्या, अप्ठ्यारो वा आवश्यकतामा सहयोग गर्न म प्रतिबद्ध छु। समाजमा कसैले पनि आफूलाई एक्लो महसुस गर्न नपरोस् भन्ने वातावरण निर्माण गर्नु हाम्रो साझा दायित्व हो।” उहाँले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै एकल महिलाहरूको मनोबल अझ उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा बोल्दै वडाध्यक्ष कुश ढकालले समाज निर्माण र विकासमा एकल महिलाहरूले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो। उहाँले परम्परागत सोच र सामाजिक कुरीतिहरू परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै एकल महिलाहरूलाई सम्मानजनक जीवनयापनका लागि वडा कार्यालय निरन्तर साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    उहाँले भन्नुभयो, “समाज निर्माणमा सबैको योगदान महत्वपूर्ण हुन्छ। एकल महिलाहरूले विभिन्न चुनौतीका बीच परिवार र समाजलाई अगाडि बढाउन खेलेको भूमिका प्रशंसनीय छ। उहाँहरूको आत्मसम्मान र अधिकारको संरक्षणका लागि वडा सधैँ सकारात्मक रूपमा अघि बढ्नेछ।”

    यसै क्रममा वडा सचिव शम्भु बरालले यस्ता सामाजिक तथा जनचेतनामूलक कार्यहरूमा वडा कार्यालय सधैँ तत्पर रहेको बताउनुभयो। उहाँले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा पनि आवश्यक सहयोग, समन्वय र साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, सामाजिक सद्भाव, समानता र सम्मानको संस्कृति विकास गर्न यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो।

    कार्यक्रम संयोजक तथा वडा सदस्य रेनु श्रेष्ठका अनुसार वडाभित्र करिब २ सय एकल महिला रहेका छन्, जसमध्ये करिब १४५ जना सम्मान कार्यक्रममा सहभागी भएका थिए। उहाँले कतिपय महिलाहरू कार्यक्रममा सहभागी हुन चाहेर पनि सामाजिक संकोच, डर तथा अन्य कारणले उपस्थित हुन नसकेको जानकारी दिनुभयो। समाजमा अझै पनि एकल महिलाप्रति केही पुराना सोच र विभेद कायम रहेकाले उनीहरू खुलेर अगाडि आउन हिच्किचाउने अवस्था रहेको उहाँको भनाइ थियो।

    उहाँका अनुसार ६० वर्ष उमेर पूरा गरेका अविवाहित महिलाहरू तथा जुनसुकै उमेरका भए पनि श्रीमान्को मृत्यु दर्ता भएका एकल महिलाहरूलाई कार्यक्रममा सम्मान गरिएको हो। कार्यक्रमको उद्देश्य एकल महिलाहरूलाई समाजमा सम्मानित, सुरक्षित र आत्मविश्वासी महसुस गराउनुका साथै उहाँहरूप्रति सकारात्मक सन्देश प्रवाह गर्नु रहेको बताइएको छ।

    सम्मान कार्यक्रममा सहभागी महिलाहरूले वडाले आफूहरूलाई सम्झेर सम्मान गरेकोमा खुसी व्यक्त गरेका थिए। उहाँहरूले भौतिक उपहारभन्दा पनि समाजले आफूहरूलाई सम्झेको, सम्मान दिएको र अपनत्व देखाएको अनुभूति नै सबैभन्दा ठूलो उपलब्धि भएको प्रतिक्रिया दिनुभयो।

    त्यसैगरी, कार्यक्रम सफल बनाउन वडा नं. २९ का जनप्रतिनिधि सन्तोष दुङ्गेल, वडा सदस्य अनिल श्रेष्ठ तथा सङ्गीता पुजारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँहरूले सहभागी एकल महिलाहरूलाई प्रोत्साहन व्यक्त गर्दै सुख, स्वास्थ्य, सम्मान र आत्मनिर्भर जीवनको शुभकामना दिनुभएको थियो। साथै, यस्ता सामाजिक तथा मानवीय कार्यक्रमहरूलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो।

    वडा नं. २९ ले आयोजना गरेको यस कार्यक्रमले एकल महिलाहरूको आत्मसम्मान बढाउनुका साथै समाजमा समानता, सम्मान, अपनत्व र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न सकारात्मक सन्देश दिएको सहभागीहरूको विश्वास रहेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend