logo

२०८३ भाद्र १७ बुधबार

रसुवा, नुवाकोट र धादिङमा भएको विपद्प्रति डा. डिल्लीरमण रेग्मी स्मारक तथा पुस्तकालय विकास समितिद्वारा दुःख व्यक्त

रसुवा, नुवाकोट र धादिङमा भएको विपद्प्रति डा. डिल्लीरमण रेग्मी स्मारक तथा पुस्तकालय विकास समितिद्वारा दुःख व्यक्त


हाम्रो राष्ट्र
  • सोमबार, १५ भाद्र २०८३
  • 728
    SHARES

    काठमाडौं लाजिम्पाट: डा. डिल्लीरमण रेग्मी स्मारक तथा पुस्तकालय विकास समितिले डा. डिल्लीरमण रेग्मीको २५औँ स्मृति दिवसका अवसरमा हालै रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा भएको प्राकृतिक प्रकोपबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।

    समितिले विपद्मा परी दिवङ्गत भएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। सो अवसरमा दिवङ्गतहरूप्रति दीप प्रज्वलन गर्नुका साथै एक मिनेट मौनधारण गरिएको थियो।

    शोक व्यक्त गर्ने क्रममा पुस्तकालयकी अध्यक्ष प्रा. डा. वीणा पौडेल, प्रा. डा. मोहनप्रसाद लोहनी, प्रा. डा. प्रेम खत्री, प्रा. डा. ध्रुव घिमिरे, प्रा. डा. गोपाल पोखरेल, वरिष्ठ साहित्यकार प्रा. डा. रामप्रसाद दाहाल, भोला श्रेष्ठलगायतले भोटेकोसीमा आएको बाढी तथा त्यसबाट भएको धनजनको क्षतिबारे चर्चा गरेका थिए।

    उनीहरूले विपद्बाट आक्रान्त परिवार, समाज, गाउँ, सहर हुँदै सिङ्गो देशले छिट्टै शान्ति र सहजता प्राप्त गरोस् भन्ने कामना गरेका थिए। साथै, डा. डिल्लीरमण रेग्मीले नेपाली समाज, साहित्य तथा बौद्धिक क्षेत्रमा पुर्‍याउनुभएको योगदानको समेत स्मरण गरिएको थियो।

    कार्यक्रममा विपद्मा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन भएकाहरूको तत्काल खोजी गरी सम्पर्कमा ल्याउन तथा प्रभावितलाई आवश्यक राहत उपलब्ध गराउन सरकार, सम्बन्धित निकाय र सबै नेपालीलाई एकजुट भएर सहयोग गर्न आग्रह गरिएको थियो।

    “सेवा नै परम धर्म” भन्ने भावनालाई आत्मसात् गर्दै विपद्को यस कठिन घडीमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिँदै सबैको सामूहिक प्रयासबाट विपत्तिको अवस्थाबाट छिट्टै बाहिर निस्कन सकियोस् भन्ने कामनासहित कार्यक्रम सम्पन्न भएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend