logo

२०८३ साउन १४ बिहिबार

काम गर्दाको ज्याला नपाएपछि दार्चुलामा पुल बन्द

काम गर्दाको ज्याला नपाएपछि दार्चुलामा पुल बन्द


हाम्रो राष्ट्र
  • आइतबार, १० बैशाख २०८०
  • 910
    SHARES

    खलङ्गा । पुल निर्माण गर्दाको ज्याला नपाएपछि श्रमिकले झोलुग्ङे पुल बन्द गरेका छन् । दुई वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहुँ गाउँपालिका-१ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीय मजदुरले काम गरेको ज्याला नपाए पछि पुल बन्द गरेका हुन् ।

    गाउँपालिकाको रु दुई करोड १० लाख लागत रहेको तीन सय ९० मिटर लम्बाइ भएको उक्त पुलको विसं २०७६ मा निर्माण सुरु भएको थियो। दुई वर्षभित्र पुल निर्माण गर्नुपर्ने समय सीमा रहेको पुलमा अहिले पनि लोड टेस्टलगायतका काम बाँकी रहेकाले अन्तिम किस्ता भुक्तानी हुन बाँकी रहेको गाउँपालिका-१ का वडाध्यक्ष जीतबहादुर बमले बताए। पुलमा केही संरचनाको प्राविधिक परीक्षणमा त्रुटिसमेत भेटिएको र पुलको छेउतिरको एक लठ्ठासमेत खुस्किएको अध्यक्ष बमले बताए ।

    पुल निर्माणको भौतिक काम सम्पन्न भएको दुई वर्ष समय हुँदासमेत ठेकेदार कम्पनीले श्रमिकको ज्याला भुक्तानी नगरेको भन्दै स्थानीय श्रमिकले शुक्रबारदेखि पुल बन्द गरेको दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्र बडालले बताए ।

    पटक-पटक काम गरेको ज्यालाका लागि आग्रह गर्दा पनि ज्याला नपाए पछि पुल नै बन्द गर्नुपरेको श्रमिक मजदुरहरुको भनाइ छ । झोलुङ्गे पुलको दुवैतिर तारजाली र जस्तापाता लगाएर बार लगाइएको छ ।

    पुल बन्द भएपछि जिल्ला सदरमुकाम खलङ्गा आउने र काम विशेषले गाउँपालिकाको कार्यालयसम्म जाने नागरिकलाई दुई घण्टा लामो बाटो भएर जानुपर्ने अवस्था सिर्जना भएको स्थानीय नवीन जोशीले गुनासो गरे ।

    निर्माणको जिम्मेवारी पाएको जगदम्बा दोभान कन्सट्रक्सनले श्रमिकको ज्याला अझैसम्म नदिनुका कारण भने खुलेको छैन। निर्माण कम्पनीको अन्तिम चरणको भुक्तानीसमेत लिन बाँकी रहेको दुहुँ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताए।

    गाउँपालिका-१, २ र ५ का स्थानीयले उक्त पुल निर्माणको समयमा मजदुरी गरेका थिए । निर्माण सम्पन्न भइसकेको अवस्थामा मजदुरको ज्याला नदिइ ठेकेदार कम्पनी सम्र्पकबिहीन भएको स्थानीय नरेन्द्र जोशीले बताए ।

    यसअघि स्थानीयले पटक-पटक आफूहरुले काम गरेको ज्याला पाउनुपर्ने भन्दै गाउँपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै स्थानीय मजदुर आक्रोसित भएका छन् । निर्माण कम्पनीले मजदुरसँगै पसल धनी र ट्र्याक्टर व्यवसायीकोसमेत पैसा दिएको छैन ।

    स्थानीय श्रमिक पसल धनी र ट्र्याक्टर व्यवसायीले बेलाबेला गाउँपालिकाको न्यायिक समिति र जिल्ला प्रशासन कार्यालय दार्चुलमा अनुरोध गर्दा पनि कुनै निकास नआएपछि पुल बन्द गर्न बाध्य भएको नरेन्द्र जोशीले बताए ।

    गाउँपालिकाले पटकपटक ठेकेदार कम्पनीसँग सम्पर्क गर्न खोज्दा ठेकेदार कम्पनी सम्पर्कमा नआएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए । पहिलेदेखि नै हामीले ठेकेदार कम्पनीसँग सम्पर्क गर्न खोजेका हौं। उहाँहरु सम्पर्कमा आउनुभएन।’ उनले भने ।

    पीडितले जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दिएको र ठेकेदार कम्पनीलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए ।

    श्रमिकले श्रम गरेबापतको पाउनुपर्ने रकम पाउनुपर्ने र स्थानीय श्रमिकले पनि सार्वजनिक पुल बन्द गर्न नहुने उनको भनाइ छ । ‘ठेकेदारलाई गाउँपालिका र प्रशासनले सम्पर्क गर्न खोजे पनि सम्पर्क भएको छैन’, उनले भने । पुल निर्माण भइसकेको भए पनि निर्माण कम्पनीले गाउँपालिकालाई हस्तान्तरणसमेत नगरेको गाउँपालिकाका प्रवक्ता देवबहादुर बमले जानकारी दिए ।

    ‘पुल गाउँपालिकालाई हस्तान्तरणसमेत भएको छैन, पुल सञ्चालनको अनुमति नै छैन, त्यहाँ आवतजावत नगर्न हामीले पनि आग्रह गरेका छौं’, पुलको लोड टेस्टसमेत नभएकाले रहेछ’, अधिकारी जोशीले भने ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend