काठमाडौं । सांसद धनराज गुरुङले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सत्तापक्ष र प्रतिपक्षले एकबताबद्ध भएर सामूहिक प्रयत्न गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा उनले मुलुक आर्थिक महासङ्कटमा परेकाले यस्तो अवस्थामा सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताए ।
“सत्ता र प्रतिपक्षको भाव बोकेर होइन, एक ठाउँमा बसेर काम गर्नुपर्छ”, उनले भने, “समाधानको उपाय खोज्नुपर्छ, पुँजीगत खर्च कटौती गर्न खोजिएको आभाष भएको छ, पुँजीगत खर्च कटौती गरेर मुलुकलाई उभोगतितर्फ लैजान सकिँदैन ।”
वन व्यवस्थापन कार्यविधि बनाएर वन जङ्गलमा रहेका पुराना काठ बिक्री गरेर भए पनि अर्थतन्त्रलाई टेवा दिनुपर्ने जनाउँदै उनले नेपालमा उपलब्ध निकासीजन्य वस्तुलाई यो अवस्थामा प्रयोग नगरे कहिले गर्ने ? भन्दै प्रश्न गरे ।
भ्रष्टाचार मुलुकको आर्थिक समृद्धिमा बाधक रहेको भन्दै सांसद गुरुङले भ्रष्टाचार नियन्त्रणमा ध्यान दिन सरकारसँग आग्रह गरे । उनले बाँदर आतंक नियन्त्रणका लागि निर्यात गर्न सुझाव दिए ।
उनले भने, ‘गाउँघरमा बाँदर आतंक फैलिएको किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरले खाइदिने गरेको छ । त्यसलाई निर्यात गर्दा मुलुकलाई फाइदा नै हुन्छ । श्रीलंकाले हालसालै एक लाख बाँदरहरु निर्यात गर्ने निर्णय गरेको छ । सभामुख महोदय हाम्रा गाउँहरुमा पनि अहिले बाँदर आतंक मच्चिएको छ । अष्ट्रेलियाले पनि राष्ट्रिय जनावर कंगारु लाखौंको संख्यामा मारेको र त्यसको छाला निर्यात गरेछ । हामी पनि त्यसै गरौं ।’
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend