काठमाडौँ । सरकारले ल्याउन लागेको राष्ट्रिय साइबर सुरक्षा नीतिप्रति पत्रकारहरुले विशेष चासो देखाएका छन् । पत्रकारका संघ सङ्गठनका प्रतिनिधिहरूले नीतिको मस्यौदाको गहन अध्ययन गरेर सरकारलाई सुझाव दिने तयारी समेत गरेका छन् । लोकतन्त्र तथा विकास केन्द्र (सिडिडी)ले काठमाडौँमा आयोजना गरेको नीति समीक्षा कार्यक्रममा उनीहरूले चाडै नै यस बारेमा संगठनको धारणा सार्वजनिक गर्ने र सरकारलाई सुझाव दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा केन्द्रका महासचिव तथा साइबर सुरक्षा अध्येयता जीवन भण्डारीले मस्यौदामाथि २१ बुँदे सुझाव प्रस्तुत गर्नु भएको थियो । सहभागीहरुले त्यसलाई समेत आधार बनाएर आफूहरुले छलफल गर्ने र सुझाव तयार पार्ने बताएका थिए । सरकारले यही वैशाख ४ गते मस्यौदा सार्वजनिक गरी सुझाव माग गरेकाले सबैले अध्ययन गरेर सुझाव दिन पनि उनले आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नीतिका बारेमा विश्लेषणात्मक प्रस्तुती गरेर आफुहरुलाई घच्घच्याएकोमा लोकतन्त्र तथा विकास केन्द्रलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि यस्तै उपयोगी, गहकिला, रचनात्मक र सान्दर्भिक कार्यक्रमहरु गरिरहन सुझाव दिदै आफूहरुको साथ सहयोग सधैँ रहने वचनवद्धता व्यक्त गरे । अध्यक्ष पोखरेलले इन्टरनेटमा नागरिकको सहज पहुँच र स्वतन्त्रतापूर्वक उपयोग गर्न पाउने कुरामा सबैले चासो राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (वान) का अध्यक्ष कुमार भट्टराईले इन्जिनियरहरू पनि साइबर सुरक्षाका बारेमा साक्षर नभएको दृष्टान्त दिदै न्यून वर्गमा साइबर सुरक्षा सम्बन्धी साक्षरताको धेरै आवश्यकता रहेको धारणा राखे । उनले नेपालमा साइबर सुरक्षाको विषयलाई बढी कठोर बनाइयो भने सीमापारि गएर दुरुपयोग हुने खतरा रहेको बताए ।
नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेलले साइबर सुरक्षा नीतिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अवरोध हुन्छ की भन्ने तर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए । अभिव्यक्त गर्ने सबैभन्दा मुख्य माध्यम नै अहिले इन्टरनेट माध्यम भएकाले त्यसको निर्वाध प्रयोग गर्न पाउने कुराको सुनिश्चिता हुनुपर्ने बताए ।
प्रेस चौतारी नेपालकी उपाध्यक्ष देवीका घर्ती मगरले हरेक व्यक्ति पहिले एउटा नागरिक भएकाले नागरिक अधिकारको दृष्टिकोणबाट यसलाई हेर्नुपर्ने बताइन् । उनले साइबर माध्यममा धेरै अपराध भइरहेकाले पेशा पनि जोगिने र विकृति पनि रोकिने उपाय अपनाउनु पर्ने धारणा राखिन् ।
कार्यक्रममा आदीवासी जनजाती पत्रकार महासंघका अध्यक्ष गजुर्धन राई, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, लोक तथा दोहोरिक गीत प्रतिष्ठानका कोषाध्यक्ष अमृत अधिकारी, अनलाइन टिभी पत्रकार संघका महासचिव पवन फुयाल, अनुसन्धानकर्ताहरु कृष्ण सापकोटा, नारायण घिमिरेलगायतले पनि राष्ट्रिय साइवर सुरक्षा नीतिले इन्टरनेट प्रयोगकर्तालाई जिम्मेवार बनाउदै सहज उपयोगको वातावरण बनाउनु पर्नेमा जोड दिएका थिए ।
केन्द्रका उपाध्यक्ष संजीव घिमिरेले मानवअधिकारमैत्री साइवर सुरक्षा आफूहरुको मुख्य चासो भएको बताएका थिए ।
कार्यक्रममा संस्थाका सचिव सनिल नेपालले लोकतन्त्र, मानवअधिकार, समावेशिता, सुशासन, साइबर सुरक्षालगायतका विषयमा संस्थाले काम गर्दै आएको र सरकारले ल्याउने हरेक नीतिमाथि समीक्षा गर्ने योजना रहेको जानकारी दिए ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend